एकल पुरुष र तेस्रो लिङ्गीलाई सामाजिक सुरक्षा भत्ता दिन माग

पोखरा : सरकारले विभिन्न ७ शीर्षकमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ । ज्येष्ठ नागरिक, दलित, एकल महिला, विधवा, अपाङ्ग, लोपोन्मुख आदिवासी जनजाती र बालबालिकालाई सरकारले विभिन्न दरमा मासिक सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने गर्छ ।

तर, एकल पुरुष र तेस्रोलिङ्गीले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् । यद्यपि विभिन्न स्थानीय तहले कार्यविधि बनाएर एकल पुरुषलाई भत्ता दिइरहेका छन् ।

सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित एकल पुरुष र तेस्रोलिङ्गीलाई पनि भत्ता दिनुपर्ने माग गण्डकी संसद्मा उठेको छ ।सांसद भागवतप्रकाश मल्लले बुधबारको प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै एकल पुरुष र तेस्रोलिङ्गी व्यक्तिलाई पनि भत्ता दिनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

“संविधानले सबै नागरिकलाई बराबर हकको व्यवस्था गरेको छ । त्यसकारण एकल पुरुष र तेस्रोलिङ्गी व्यक्तिलाई पनि सामाजिक सुरक्षा भत्ता माग गर्दछु,” उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?