गठबन्धनले कसरी बनाउँदैछ सिट बाँडफाँटको मापदण्ड?

काठमाडौं :  सत्तारूढ गठबन्धन कार्यदलको बैठकले आउँदो मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको लागि सिट बाँडफाँट गर्न मापदण्ड बनाउने तयारी गरेको छ।

सोमबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको बैठकमा गठबन्धनमा सिट बाँडफाँट गर्न के-कसरी मापदण्ड तय गर्ने भन्नेबारेमा छलफल भएको नेपाली कांग्रेसका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

उनले त्यसका लागि गृहकार्य भइरहेको बताए।

मापदण्ड बनाउँदा २०७४ सालमा भएको निर्वाचन र गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतलाई आधार बनाइने उनले बताए।

तर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी नयाँ भएको कारणले विशिष्ट रूपमा राखेर मापदण्ड तय गर्ने पनि उनले बताए।

‘माधव नेपालको एकीकृत समाजवादी पार्टीले ७४ सालको चुनाव लडेको छैन। यसलाई एउटा विशिष्ट रूपमा राखेर मापदण्‍ड तय गरी अगाडि बढ्छौं,’ उनले भने, ‘सिट बाँडफाँटको टुंगो अब हामीले चाँडो गर्नुपर्छ। हामीले सकेसम्म हाम्रै तहमा मिलाएर नेतृत्वमा प्रतिवेदन दिने मनसाय छ।’

सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?