काठमाडौँ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई कारबाहीको प्रक्रिया सुरु भएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १ लाख २३ हजार ७ सय ८३ उम्मेदवारलाई कारबाही प्रक्रिया सुरु भएको हो ।
आयोगले मंगलबार विज्ञप्ति जारी गरेर स्थानीय तह निर्वाचनमा गरेको खर्च नबुझाउने र तोकिएको समयभन्दा ढिलो बुझाउने उम्मेदवारलाई कारबाही गर्ने प्रक्रिया थालेको हो ।
‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा भाग लिई तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने १ लाख १५ हजार १३१ जना र तोकिएको समयावधिभन्दा ढिलोगरी निर्वाचन खर्चको विवरण बुझाउने ८ हजार ६५२ जना समेत कूल जम्मा १ लाख २३ हजार ७८३ जना उम्मेदवारहरूलाई तोकिएको समयावधिभित्र के कुन कारणले निर्वाचन खर्चको विवरण नबुझाएको हो ? तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाएकोमा तपाईँहरूलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ बमोजिम किन कारबाही हुनु नपर्ने हो ? भनी आफ्नो सफाई सहितको स्पष्टीकरण ७ (सात) दिनभित्र सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा पेस गर्न आयोगले आदेश दिएको छ,’ आयोगका प्रवक्ताले भने ।
चुनावमा गरेको खर्चको विवरण आयोगले तोकेको ढाँचामा निर्वाचन परिणाम घोषणा भएको तीस दिनभित्र सम्बन्धित जिल्ला वा प्रदेश निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानुनी व्यवस्था छ ।
१ लाख १५ हजारले बुझाएनन् चुनावी खर्च
निर्वाचन आयोग ऐन, २०७३ मा निर्वाचनमा निर्धारित हदभन्दा बढी खर्च गरेमा वा तोकिएको अवधिमा खर्च विवरण पेस नगर्ने राजनीतिक दल वा उम्मेदवारलाई निजले गरेको निर्वाचन खर्च वा आयोगद्वारा निर्धारित खर्चको हदमध्ये जुन बढी हुन्छ सोही बराबरको रकम जरिवाना गर्न सकिने व्यवस्था छ ।
त्यस्तै, कुनै राजनीतिक दल वा उम्मेदवारले निर्वाचन खर्चको विवरण पेस नगरेमा वा त्यसरी पेस भएको विवरणमा लेखा परीक्षण हुँदा लेखा परीक्षकको प्रतिवेदनको आधारमा अस्वाभाविक वा निर्वाचनको स्वच्छतामा प्रतिकूल हुने गरी वा गैरकानुनी प्रयोजनका लागि गैरकानुनी तवरले खर्च गरेको देखिएमा आयोगले त्यस्तो राजनीतिक दल वा उम्मेदवारलाई त्यसरी गरेको खर्च बराबरको रकम वा पाँच लाख रुपैयाँमध्ये जुन बढी हुन्छ सो बराबरको रकम जरिवाना गर्न सक्नेछ ।
इकान्दिपुर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?