लमजुङमा जिप दुर्घटना : गर्भवती र बालबालिकासहित १५ जना घाइते

लमजुङ : लमजुङको बेंसीसहरबाट मर्स्याङ्दी गाउँपालिका २, घनपोखरा भाचे जाँदै गरेको यात्रुवाहक जिप दुर्घटना हुँदा सबै यात्रु घाइते भएका छन् ।

सवारी चालक हाम फालेर जोगिए पनि जिपमा सवार १५ जना यात्रु नै घाइते भएको प्रहरीले बताएको छ । बुधबार साँझ ५ बजेतिर ग १ ज ७४१७ नम्बरको जिप दुर्घटनामा परेर एक जना गर्भवतीसहित ६ जना महिला, ३ जना बालबालिका र ६ जना पुरुष घाइते भएका छन् ।

स्थानीय कृष्णबहादुर विकका अनुसार भाचे जाँदै गरेको जिप काफलडाँडाको घुम्ती नपुग्दै पल्चे खोलामा दुर्घटना भएको हो । सडकबाट खोल्सामा खसेर दुर्घटना भएपछि यात्रुलाई स्थानीय र प्रहरीले उद्धार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार गम्भीर घाइते मर्स्याङ्दी गाउँपालिका २ की ५३ वर्षीया इन्द्रदेवी घलेलाई नयाँ मेडिकल कलेज चितवन रिफर गरिएको छ । घाइते मर्स्याङ्दी २ का २५ वर्षीया करिना सुनार, उनका २ वर्षीय छोरा रिजन सुनार, मस्र्याङ्दी २ कै ५६ वर्षीया सुनमाया गुरुङ, गर्भवती १९ वर्षीया रेखा विक, ३४ वर्षीया शिवकुमारी गुरुङ, उनका २ वर्षीय छोरा रियान्स गुरुङ, ३० वर्षीया मुनु विकको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।

यस्तै, मर्स्याङ्दी २ कै ३३ वर्षीय शेषबहादुर गुरुङ, ५२ वर्षीय चित्रबहादुर गुरुङ, २२ वर्षीय मिलन विक, ३१ वर्षीय बुद्धिबहादुर गुरुङ, ३३ वर्षीय रेखबहादुर गुरुङ, ७ वर्षीय राजिव गुरुङ र वडा नं. ९ का २६ वर्षीय सोमनाथ विकको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चालक मर्स्याङ्दी गाउँपालिका २ का २५ वर्षीय अजय विकले हाम फालेर ज्यान जोगाएको र उनी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ । इन्सपेक्टर रेग्मीका अनुसार सडकबाट करीब २५ मिटर तल खोल्सामा खसेर जिप दुर्घटना भएको हो । उकालोमा व्याक गर्दा बढी लोडका कारण ब्रेक लाग्न नसकी जिप दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

इकान्दिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?