
काठमाडौं : कांग्रेस नेता प्रदिप गिरीको भौतिक शरीर आज यस संसारबाट बिदा भएको छ । लामो समयदेखि क्यान्सरले थलिएका गिरीको स्वास्थ्यमा निमोनियाको प्रहारपछि अवस्था झन जटिल हुँदै गएको थियो । अन्तत: कठोर रोगका सामु गिरीको भौतिक शरीरको पनि केही लागेन ।
कांग्रेस संसदीय दलको कार्यालयले उनको स्वास्थवस्था स्थिर रहेको भनेर विज्ञप्ती जारी गरेको केही समयपछि नै शनिबार राति ९ बजेर ३० मिनेटमा उनले प्राण त्याग गरे ।
राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष समेत गरी कुल चार वर्ष उनले जेल जीवन बिताए । उनी २०२४ सालमा नेपाल छात्र सङ्घ (बनारस)को निर्वाचित उपाध्यक्ष थिए भने लामो समयसम्म नेपाली कांग्रेसका सांसद रहे ।
संसदमा कमै उपस्थित हुने गिरी २०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं. ५ बाट निर्वाचित भएका थिए । गिरीले २०५६ को संसदीय निर्वाचनमासमेत भाग लिएका थिए । व्यवस्थापिका संसदमा त्यतिबेला उनले नेपाली काङ्ग्रेस, प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधित्व गरेका थिए ।
२०६४ र २०७० मा उनी समानुपातिक सांसद भए । २०७४ मा एमाले र माओवादी मिल्दा पनि सिरहा १ बाट चुनाव जिते । राजनीतिक शक्तिमा हुनुको फाइदा उनले उठाएनन् । कहिल्यै मन्त्री भएनन् । काठमाडौंमा घर बनाएनन् । बरु राज्य दोहन गर्नु हुँदैन भनेर जग्गा बेचेर उपचार गराए ।
भारत, जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरेका गिरी अध्ययनमा विशेष रुचि राख्ने नेता थिए । पढ्ने, लेख्ने र चिन्तन नगर्ने नेताहरुका भिडमा गिरी एक अपवाद थिए । प्रसिद्ध समाजवादी चिन्तकसमेत रहेका गिरीले आफ्नो अधिकांश जीवन अध्ययन, अध्यापन र विमर्शमा बिताए । स्वभावैले चिन्तन र छलफलमा निकै रुचि राख्ने गिरी सत्ताबाट सधैं टाढा रहे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?