काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि निर्वाचन आयोगले आजदेखि मतदाता नामावली अद्यावधिक गर्ने भएको छ।
आयोगका अनुसार भदौ १२ (आइतबार) सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन्।
नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा नाम कायम राख्न भदौ १३ देखि १५ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगले जनाएको छ।
एक सूचना जारी गर्दै आयोगले मृत्यु भएका एवं नागरिकता त्याग गरेका मतदाताको नाम सूचीबाट हटाउन भदौ १३ देखि १६ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने जनाएको छ। यसअघिको निर्वाचनमा मृत्यु भएका तथा विदेशमा भएका व्यक्तिको नाम मतदाता सूचीमा रहेको भन्दै आयोगको आलोचना भएको थियो।
आगामी मङ्सिर ३ गतेभित्र १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ।
त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्नेछ। आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?