सत्यनारायणलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न फोनिजको माग

दमौली : आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरेको छ । बुधवार फोनिज तनहुँ शाखाले श्रेष्ठलाई संस्थापक अध्यक्ष घोषणा गर्न माग गर्दै महासंघका जिल्ला अध्यक्ष उज्वल पौडेल मर्मत ज्ञापनपत्र बुझाएको हो  ।

हाल नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई भन्ने गरिएको छ । भट्टराई नेपाली कांग्रेसका संस्थापक र नेपालको पहिलो सभामुखसमेत हुन् । २००८ सालमा नेपाल पत्रकार संघको स्थापना गर्दा श्रेष्ठ अध्यक्ष भएकाले उनैलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने फोनिजको माग छ ।

सत्यनारायण बहादुर श्रेष्ठको सभापतित्व  २००८ सालमा पहिलो पत्रकार संघको गठन भएको थियो । यसैले नेपाल पत्रकार संघका पहिलो सभापति सत्यनारायण बहादुर श्रेष्ठ नै रहेको तर्क गर्न गरिएको छ ।

उनको सभापतित्वमा गठन भएको नेपाल पत्रकार संघको दोस्रोसभा २००९ साल वैशाख २८ गते भोटाहिटीस्थित आर्य समाजको भवनको सभाकक्षमा भएको थियो । यो सभाले पनि सत्यनारायण बहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघ पुनर्गठन गरेको थियो ।

यसको तीन वर्षपछि मात्र दोस्रो नेपाल पत्रकार संघको गठन भएको थियो । २०१२ साल चैत्र १६ गते पत्रकारहरुको बैठकबाट नेपाल पुकारका तत्कालीन सम्पादक कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बनेका थिए । सत्यनारायणबहादुर श्रेष्ठ भन्दा चार बर्ष पछि मात्रै नेपाल पत्रकार संघको अध्यक्ष बनेका कृष्णप्रसाद भट्टराईलाई संस्थापक सभापति भन्ने गरिएको छ ।

फोनिज तनहुँका अध्यक्ष किरण श्रेष्ठले पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेललाई ज्ञापन पत्र बुझाउँदै माग सम्बोधनका लागि पहल गर्न आग्रह गरेका थिए ।

अध्यक्ष पौडेलले ज्ञापनपत्रमा उल्लेखित मागप्रति समर्थन जनाउँदै पत्रकार महासंघको केन्द्रीय कार्यसमितिको संरचना समावेशी बनाउन थप पहल गर्ने प्रतिबद्धता जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?