दमौली : तनहुँ समाज हङकङले तनहुँको ऋषिङ गाँउपालिका–७ निवासी ४३ वर्षीया मुटु रोगी चन्द्रमाया नेपालीलाई आर्थिक सहयोग गरेको छ । मंगलबार ऋषिङ पोखरीभञ्याङ स्थित उनकै निवासमा पुगी समाजले नगद रु १ लाख ७९ हजार ४ सय ६० उनलाई हस्तान्तरण गरेको हो ।
समाजका पूर्व अध्यक्ष भिमराज गुरुङ र समाजसेवी श्रीराम आलेले संयुक्त रुपमा पीडित चन्द्रमायालाई नगद रकम हस्तान्तरण गरेका हुन् ।
बिगत १५ वर्षदेखि मुटु सम्बन्धी समस्याबाट ग्रसित भइ उपचारको क्रममा रहेकी नेपालीलाई विभिन्न सिलसिलमा हङकङ पुगेका तनहुँङ्गेले सन् २०२२को जुन १५ देखि जुलाई १५ सम्म संकलन गरेको १० हजार ७ सय हङकङ डलर हस्तान्तरण गरिएको हो ।
मुटुमा प्वाल परेर १४ वर्षदेखि निरन्तर औषधी सेवन गर्दै आएकी उनको हालै शल्यक्रिया गरिएको थियो । त्यसपछि थप औषधी र अन्य पौष्टिक आहारको लागि आर्थिक अभाव परेपछि समाजलाई सहयोगको लागि अपिल गरेको पीडितका श्रीमान डोलराज नेपालीले बताए ।
पोखरा स्थित गण्डकी मेडिकल कलेजबाट रोग पहिचान भएपछि उनको काठमाडौँ स्थित गंगालाल ह्रदय रोग उपचार केन्द्रमा उपचार भइरहेको उनले बताए ।
उपचारमा रकम अभाव भएको खबर स्थानीय टोल बहादुर थापाले हङकङमा रहेका आफ्ना दाई लालबहादुर थापालाई बताएपछि उनको सक्रियतामा हङकङमा रहेका नेपालीहरुबाट रकम संकलन गरिएको हो ।
रकम हस्तान्तरण गर्दै समाजका निवर्तमान अध्यक्ष गुरुङले समाजले तनहुँुङ्गेको दुख पीडा र बिकासमा सघाउन पाउदा गर्वको अनुभूति हुने गरेको बताए । साथै तनहुँ समाज हङकङ मार्फत पुण्यको काममा सरिक हुने अवसर पाएको बताउदै उनले प्राप्त रकम सही सदुपयोग गर्न समेत पीडितलाई आग्रह गरे ।
सोही अवसरमा समाजसेवि श्रीराम आलेले विदेशमा परिश्रम गरेको केही रकम आफ्नो ठाउँमा दुख पाएका व्यक्तिहरुलाई सहयोग गर्नु अति नै सराकारात्मक काम भएको बताउदै सहयोग प्रति आभार व्यक्त गरे ।
तनहुँमा बिगतदेखि नै समाजिक सेवा गर्दै आएको समाजले नेपाली दुख पीडामा परेको खबर आउन साथ हङकङमा विभिन्न सिलसिलामा पुगेका नेपालीहरुसँग समन्वय गरी आफ्नो कमाइबाटै सहयोग रकम पठाउदै आएको समाजका कार्यक्रम संयोजक प्रदीप काफ्लले जानकारी दिए । बिगत १० वर्षदेखि तनहुँको शिक्षा, स्वास्थ्य, खानेपानी र दैवि प्रकोप लगायतका क्षेत्रमा सहयोग गर्दै आएको समाजले पछिल्लो समय विभिन्न गम्भिर प्रकृतिका रोगबाट ग्रसित बनेका बिरामीहरुको उपचारमा सघाउदै आएको काफ्लेले बताए ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा वडा नं ६का वडाध्यक्ष भक्तबहादुर आले, ७ का वडाध्यक्ष दुर्गाबहादुर थापा, ८ का वडाध्यक्ष भरतकुमार श्रेष्ठ, नेपाली कांग्रेस ऋषिङ गाउँपालिका सभापति तिलबहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?