एक अर्काको खुट्टा तान्ने होइन, हात तान्ने गरौं भन्दै डा. शेषरमण न्यौपानेले दिए स्पष्टीकरण

डा.शेषरमण न्यौपानेबाट स्पष्टीकरण न्यौपानले आदिकवि भानुभक्त क्याम्पसको संचालक समितिको सदस्य पदमा बस्न चाहेको विषय समेतलाई लिएर दमौली बजारमा भैरहेको चर्चाको सम्वन्धमा स्पष्ट पार्ने कोशिस गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले आफ्नो राजनीतिक यात्रालाई सहयोग गर्न अपिल समेत गरेका छन् ।

———————–स्पष्टीकरण —————-

तनहुँबासी आदरणाीय दाजुभाइ दिदीबहिनीहरू,

मैले आदिकवि भानुभक्त क्याम्पसको संचालक समितिको सदस्य पदमा बस्न चाहेको विषय समेतलाई लिएर दमौली बजारमा भइरहेको चर्चाको सम्ब​न्धमा स्पष्टीकरण पेश गर्न चाहन्छु ।

मैले केही समय अगाडि सो क्याम्पसको गुरुयोजना तर्जुमा गर्ने कामको संयोजन गर्ने जिम्मेवारी पाएको थिएँ । त्यस क्रममा विद्यालय व्यवस्थापनमा सुधार गर्नु पर्ने धेरै विषयहरूको जानकारी भयो, जुन प्रतिवेदनमा पनि उल्लेख छ । शिक्षण सस्थालाई बेरोजगार उत्पादन गर्ने थलोको रूपमा नभई व्यावसयिक र व्यावहारिक शिक्षा तर्फ जाने प्रयासमा आउन सक्ने चुनौतीहरूको सामना गर्न मैले यो संस्थामा योगदान गर्न पर्छ भन्ने लाग्यो । त्यसका लागि संचालक समितिमा बसेर काम गरौं भन्ने इच्छा जाग्यो । मेरो शिक्षाप्रतिको लगाव देखेर चन्दादाता, अभिभावकहरूले यो जिम्मेवारी दिनु होला भन्ने पूर्ण विश्वासका साथ अगाडि पनि बढेको थिएँ, लहड वा कसैको उस्काहट होइन ।

शिक्षण संस्था जस्तो पवित्र सस्थामा निर्वाचनबाट संचालक समितिको चयन गर्ने अवस्था आयो । निर्वाचनको क्रममा सधै मलाई माया गर्ने दाजुभाईबाटै टिम बनेको, म त्यो टिमभन्दा बाहिर परेको भन्ने कुराको पनि कुनै अर्थ छैन र त्यसमा अब कुनै गुनासो छैन पनि । नि:स्वार्थ रूपमा सामाजिक सेवा गर्ने मेरो भावनामा यस पटकका लागि ठेस लाग्यो । यति हुँदाहुँदै पनि मलाई माया गरेर सम्मानजनक मत दिनुहुने सम्पूर्ण मतदाताहरूप्रति हार्दिक आभार प्रकट गर्दछु ।

 

म धेरै समय जिल्लाबाहिर बसेर काम गरें । पूर्णकालीन राजनीति र समाजसेवामा जाने सोचका साथ आफ्नो गाउँ ठाउँ फ​कें । काम गर्नका लागि कुनै पद आवश्यक ठानें, सब​भन्दा पहिला पार्टीको नगर सभापति र पछि गएर जिल्ला उपसभापतिको कुरा गरें। आफ्नै साथीभाइका विरुद्ध निर्वाचनमा जान उपयुक्त ठानिनँ । स्थानीय र संसदीय निर्वाचनमा पार्टीभित्र आकांक्षा राख्दा मैले कुनै अपराध गरेजस्तो लाग्दैन । स्वतन्त्रताका लागि लडाई लडेका हामी, आफ्नो इच्छा जाहेर गर्न पनि डराउन पर्ने अवस्थामा पुगेछौं। यो हामी कसैले पनि चाहेको अवस्था किमार्थ होइन ।

वास्तविक अवस्थाको विचार नगरी डा. शेषरमणले जहाँ पनि दरखास्त हाल्छ भनेर मेरो राजनीतिक यात्रामा तेजोवध गर्ने गरी भइरहेको प्रचारप्रति दुःख व्यक्त गर्दछु । जसले ममाथि भरोसा गर्नु भएको छ, उहाँहरूको भरोसा टुट्न दिने छैनँ र निरन्तर सक्रिय रहनेछु । एक अर्काको खुट्टा तान्ने होइन, हात तान्ने गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?