घडेरी खन्ने क्रममा पाल्पामा तोपका गोला भेटियो

तानसेन : पाल्पाको सदरमुकाम तानसेन नजिकै घडेरी खन्ने क्रममा ठूलो सङ्ख्यामा तोपका गोला फेला परेका छन् ।

तानसेन नगरपालिका–४ गोलाखानामा घडेरी खन्ने क्रममा तोपका गोला फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

बाइसेरचौबीसे राज्य एकीकरणको समयताका त्यो ठाउँमा गोलखान रहेका कारण तोपका गोला फेला परेको पाल्पा इतिहासका जानकार निर्मल श्रेष्ठले बताए ।

अहिलेसम्म तीन सय वटा गोला फेला परेको र उत्खननको क्रममा अझ धेरै भेटिन सक्ने श्रेष्ठको भनाइ छ ।

गोला भेटिएको जग्गा पाल्पामा रहेको नेपाली सेनाको हो । त्यही ठाउँमा सेनाले गेस्ट हाउस निर्माणका लागि घडेरी खनिरहेको छ ।

अहिले ती गोलाको सुरक्षित व्यवस्थापनका लागि पाल्पाको नेपाली सेनाको दि फेमस महेन्द्र दल गणको टोली परिचालन भएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

फेला परेका गोलाको बारेमा थप अनुसन्धान प्रक्रिया अगाडि बढेको पाल्पा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?