काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज पुस १७ गतेबाट सञ्चालनमा आउने भएको छ।
सरकारले अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको अवसर पारेर आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन लागेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान ११ बजे विमानस्थल उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
योसँगै नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमान स्थल हुनेछन्।
बिहान पहिलो उडानबाट विमानस्थलमा अवतरण गर्ने जहाजका चालक दल तथा यात्रुलाई फूलमालाले स्वागत गरिने कार्यक्रम राखिएको छ। अमरसिंह चोकदेखि विमानस्थलसम्म विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहित र्याली निकाल्ने तयारी गरिएको छ। विमानस्थलको परिकल्पना गरी जग्गा अधिग्रहण सुरु गरेका तत्कालीन अञ्चलाधीश शंकरराज पाठकलाई अभिनन्दन गर्ने कार्यक्रम छ।
अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको खुसियालीमा पोखरा महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ।
यो विमानस्थलको निर्माणकार्य चीनको सीएएमसी इन्जिनियरिङ कम्पनीले सन् २०१७ अगस्ट ११ देखि सुरु गरेको थियो।
चीन सरकारले नेपाल सरकार र नेपाली जनतालाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन लागेकोमा बधाइ दिएको छ।
आज पोखरा विमानस्थलको उद्घाटन गरिए पनि फेब्रुअरी २३ देखि दैनिक १८ घन्टा उडान हुनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?