लमजुङ : लमजुङको बेंसीसहरमा आयोजित त्रिवेणी कपको ३० औं संस्करणमा रेगुलेसन आउटसाइन अफ डार्कनेस सोसाइटी (रड्स) रामपुर चितवनले उपाधि चुमेको छ ।
सीसहरको सहजीस्थित त्रिवेणी रंगशालामा मंगलबारको फाइनल खेलमा वाग्मती फुटबल क्लब सर्लाही टाइब्रेकरमा ५–४ गोलअन्तरले चुक्यो । पहिलो हाफको १८ मिनेटमा वाग्मती सर्लाहीका अनिल रानाले गोल गरे ।
वाग्मती सर्लाहीको खेलाडी र किपरको असावधानीले भएको गोलका कारण रड्स रामपुरले त्रिवेणी कपको ३० औं संस्करणमा पहिलो उपाधिसँगै ५ लाख रुपैयाँ, त्रिवेणी कप, मेडल र प्रमाणपत्र हात पारे । वाग्मती सर्लाहीले ३ लाख रुपैयाँ, मेडल र प्रमाणपत्रमा चित्त बुझाए ।
रड्सका अध्यक्ष विजय घलेले त्रिवेणी कप फुटबल प्रतियोगितामा छैटौं पटक माग लिँदा पहिलो जित भएको दाबी गरे ।
सेमीफाइनलमा पराजित सामना युवा क्लब तुरतुरे तनहुँ र समाज कल्याण काठमाडौंले नगद ५०/५० हजार रुपैयाँ पाए । विजयीलाई प्रतिनिधि सभा सदस्य एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, क्व्होलासोंथर गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ, दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारी, आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष विनोद गुरुङलगायतले पुरस्कार वितरण गरे ।
प्रतियोगिता अवधिभर वाग्मती सर्लाहीका देवा गुरुङ, रड्स रामपुरका सुरेश कुमाल र समाजकल्याणका विदेशी खेलाडी अब्दुल्लाहले समान २/२ गोल गर्दै नगद १५ हजार रुपैयाँ बाँडे । बेष्ट गोल किपर वाग्मतीका रविन बस्नेत र वेष्ट प्लेयर रड्सका सुरेश कुमाल घोषित भए । उनीहरुले नगद १५/१५ हजार रुपैयाँ पाए ।
फाइनल खेलमा रड्स रामपुरका किपर भविन्द्र मल्ल ठकुरी म्यान अफ दि म्याच घोषणा हुँदै २ हजार ५ सय रुपैयाँ बटुले । त्रिवेणी कपको ३० औं संस्करण पुस १२ गतेदेखि सुरु भएको थियो ।
हरेक वर्ष आयोजना हुने त्रिवेणी कपलाई लमजुङ तथा गण्डकीका अन्य जिल्लाहरूमध्ये आकर्षक पुरस्कार राशिको प्रतियोगिताको रुपमा मानिन्छ ।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?