
पोखरा : पत्रकार भीम थापाले आफूले प्राप्त गरेको पत्रकारिता पुरस्कार पोखरा १७ छोरेपाटन स्थित मानव सेवा आश्रमलाई प्रदान गरेका छन् । शनिवार कपडा व्यवसायी एसोसिएसन कास्कीले आफ्नो रजत वर्षका अवसरमा पत्रकार थापालाई व्यवसायीक पत्रकारिता पुरस्कार प्रदान गरेको थियो ।
पत्रकार थापाले आइतबार आश्रम मै पुगेर आफूले प्राप्त गरेको पुरस्कार नगद रु.११ हजार १ सय १० रुपैयाँ आश्रमकी कास्की जिल्ला सहसंयोजक सम्झना बर्तौलालाई हस्तान्तरण गरेका हुन् ।
मानवसेवाको उत्कृष्ट कर्म गरिरहेको आश्रममा आश्रित सहयोगापेक्षी जीवनहरूको सहयोगार्थ आफूले प्राप्त गरेको पुरस्कार अर्पण गरेको पत्रकार थापाले बताए । ‘जीवन महत्त्वपूर्ण छ, त्यसमाथि मानव जीवन यो केवल आफ्ना लागि मात्र होइन रहेछ, पत्रकार थापाले भने, जीवन अरू कसैको दुख र अभावमा बाँडेर जिउनुको आनन्द बेग्लै हुँदो रहेछ । आज मानव सेवा आश्रमले थालेको मानवता प्रवर्द्धनको अभियानमा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ।’
मानवमा मानवताको मानवीय भावना स्खलित हुँदै गएको परिस्थितिमा यो पवित्र कर्म गर्न पाउनु आफ्ना लागि गर्वको विषय भएको थापाले बताए ।
सो अवसरमा पोखरा महानगरपालिकाका प्रवक्ता मोतीराज तिमिल्सीनाले सामाजिक सेवाको कुनै मूल्य र सीमा नहुने भन्दै पत्रकार थापाले गरेको कार्य अनुकरणीय भएको बताए ।
पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले पत्रकार थापाले गरेको सहयोगलाई सिङ्गो पत्रकारिताको प्रतिनिधिका रूपमा मानव सेवा प्रतिको गहिरो सेवा भावका रूपमा आफूले लिएको बताए ।
कपडा व्यवसायी एसोसिएसन कास्कीका अध्यक्ष गजेन्द्रमान श्रेष्ठले यो आफ्ना लागि निकै ठुलो आश्चर्यको विषय भएको बताए । एसोसिएसनका पूर्व अध्यक्ष नवीन नापितले असल कर्म कुनै पनि पेसा व्यवसाय र व्यक्तिका लागि वाञ्छनीय नहुने बताए । सो क्रममा पूर्व अध्यक्ष नापितले नगद रु.१ हजार ५ सय रुपैयाँ मानव सेवा आश्रमलाई उपलब्ध समेत गराए ।
आश्रमका सञ्चालक होमनाथ मानवसेवाले मानवता प्रवर्द्धनको अभियानमा यस्तो प्रकृतिको सेवा पहिलो भएको बताए ।
पोखरामा बर्सेनि दर्जनौँ पत्रकारिता सम्बन्धी पुरस्कारहरू वितरण गरेको सुनिए पनि पहिलो पटक नजिकबाट आभास गर्न पाएको बताए । सुन्दर हृदयमा मानवताका सुन्दर फुलहरू फुल्ने बताउँदै उनले पत्रकार थापाको सहयोग त्यही सुन्दर आत्माको एक प्रतिकका रूपमा आफूले आभास गरेको बताए ।
पत्रकार थापाले यसअघि प्राप्त गरेको जगन्नाथ सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार अर्नाकोट छात्रवृत्ति प्रतिष्ठानलाई प्रदान गरेका थिए । प्रतिष्ठानले प्रत्येक वर्ष श्री अर्नाकोट माध्यमिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहनदार विद्यार्थीहरूलाई शैक्षिक सामाग्रीहरू छात्रवृत्तिका रूपमा प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?