सुशासन समितिका सभापति पन्थको गुनासो– संसदीय समितिले दिएको निर्देशन सरकारले पालना गर्दैन

काठमाडौं : दिगो विकास तथा सुशासन समिति सभापति प्रकाश पन्थले संसदीय समितिहरूले दिएका अधिकांश निर्देशन सरकारले पालना नगरेको गुनासो गरेका छन्।

बिहीबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै सभापति पन्थले संसदीय समितिहरूले दिएका अधिकांश निर्देशन सरकारले पालना नगरेको स्वीकार गरेका हुन्।

उनले राष्ट्रिय सभा र प्रतिनिधि सभाका १६ वटा संसदीय समितिले दिएका निर्देशन सरकारले कार्यान्वयन नगरेको पाइएको उल्लेख गरे। उनले संसद् र सरकार दुई फरक संस्था भएकाले एकले अर्काको क्षेत्राधिकार नमिचिने गरी निर्देशन हुँदा मात्रै कार्यान्वयन हुने गरेको बताए। उनले सरकारले गर्ने काम समितिले गर्न खोज्दा निर्देशन दिँदा कार्यान्वयन नहुने गरेको दुःखेसो पोखे।

‘राष्ट्रिय सभा र प्रतिनिधि सभा गरेर १६ वटा संसदीय समिति रहेका छन्। विगतदेखि मिडियामा संसदीय समितिहरूले दिएका निर्देशन सरकारले पालना नगरेका कुराहरू आइरहेका छन्। बाहिर आएका कुरामा सत्यता छ। संसदीय समितिले दिएका निर्देशनहरू सरकारले कार्यान्वयन गरेको अवस्था छ। संसद् र सरकार कार्यपालिका र व्यवस्थापिका दुईवटा फरक संस्था हुन्। एकले अर्काको क्षेत्राधिकार मिच्न मिलेन। क्षेत्राधिकार मिच्ने गरी निर्देशन हुँदा कार्यान्वयन नहुन पनि सक्छ। सरकारले गर्ने काम समितिले गर्न खोज्दा निर्देशन पालना नहुन सक्छ,’ उनले भने, ‘समितिले क्षेत्राधिकार नमिचिने गरी संसद आफ्नो क्षेत्रभित्र रहने गरी र सरकार संसद्प्रति उत्तरदायी रहने गरी निर्देशन गर्न सकियो भने पालना हुनसक्छ। समितिले निर्देशन दिँदा प्रमाण बेसमा अध्ययन गरेर निर्देशन गर्न सकियो भने प्रभावकारी हुनसक्छ।’

सभापति पन्थले समितिले क्षेत्राधिकार नमिचिने गरी संसद् आफ्नो क्षेत्रभित्र रहने गरी र सरकार संसद्प्रति उत्तरदायी रहने गरी निर्देशन गर्नसके पालना हुने बताए। उनले समितिले निर्देशन दिँदा प्रमाणका आधारमा अध्ययन गरेर निर्देशन गर्नसके प्रभावकारी हुने दाबीसमेत गरे।

नेपाल न्युज एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?