काठमाडौं : प्रधानमन्त्री कप महिला टी– २० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ। इटहरीमा शनिबार भएको फाइनलमा प्रदेश नम्बर १ लाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमले उपाधि जितेको हो।
२०१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १ बल बाँकी हुँदा ४ विकेट गुमाएर पूरा गरेको थियो। सुदूरपश्चिमलाई जिताउन सम्झना खड्का र कविता जोशीको पारी उत्कृष्ट प्रदर्शन गरेका थिए।
सम्झनाले अविजित २७ रन जोडिन् भने कविता १९ रनमा अविजित रहिन्। डोली भट्टले २२ तथा कविता कुँवरले १२ रन बनाइन्।
प्रदेश–१ का लागि सबनम राई, संगीता राई, रुबिना क्षेत्री र हिरान्मायी रोयले १÷१ विकेट लिए। जनता क्रिकेट पार्क क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको प्रदेश–१ ले २० ओभरमा ५ विकेट गुमाएर १०१ रन बनाएको थियो।
प्रदेश–१ का लागि काजल श्रेष्ठले अविजित ४८ रन जोडिन्। यस्तै अप्सरी बेगमले १५ तथा कप्तान रुबिना क्षेत्रीले १४ रन जोडिन्।
सुदूरपश्चिमकी मनिषा चौधरीले २ तथा ऋतु कोनुजियाले १ विकेट लिइन्।
उपाधिसँगै सुदूरपश्चिम प्रदेशले ५ लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता बनेको प्रदेश १ ले ३ लाख रुपैयाँमा चित्त बुझायो। नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो।











यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?