चितवन–२ को उपनिर्वाचनमा रविलाई सत्ता गठबन्धनले सहयोग गर्छः शेरबहादुर तामाङ

काठमाडौं :  सत्तारूढ दल नेकपा (एमाले) एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरबहादुर तमाङले चितवन–२ को उपनिर्वाचनमा रवि लामिछानेलाई सत्ता गठबन्धनले सहयोग गर्ने बताएका छन् ।

आज (सोमबार) रिपोर्टर्स क्लब नेपालको आयोजनामा ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, र समसामयिक राजनीतिक विषयमा विभिन्न दलका नेताहरुसँग भएको साक्षात्कार’ कार्यक्रममा बोल्दै तामाङले चितवन–२ मा उपनिर्वाचन हुँदैगर्दा रविलाई सत्ता गठबन्धन दलले सहयोग गर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई पुनः गृहमन्त्री बनाउन एमालेको कुनै दबाब नरहेको उनले दाबी गरे ।

उनले रबिको नागरिकता विवादसँगै रहेको राहदानी विवादमा कानुनबमोजिम छानबिन हुन आवश्यक रहेको औंल्याएका छन् । कुनै व्यक्तिमाथि कानुनी रूपमा प्रश्न उठेपछि निष्पक्ष रूपमा छानबिन हुनुपर्ने तामाङले बताए । ‘प्रश्न उठेपछि सबै मान्छे कानुनी प्रकृयामा जानुपर्छ । सबै प्रकृयाबाट उहाँ गुज्रिनुहुन्छ,’ उनले भने ।

तामाङले गत मंसिर ४ को निर्वाचनको परिणामले छ महिनामै मध्यावधि निर्वाचनको अवस्था सिर्जना गरेपछि आफूहरु सरकारमा जानुपरेको स्पष्ट पारेका छन् । उनले आफूहरुले गठबन्धन बनाएर निर्वाचनमा गएका दलहरुलाई जनताले सरकार सञ्चालनको म्याण्डेट नदिएपछि एमालेले सरकार गठनको पहल गरेको बताएका हुन् ।

‘नेपाली कांग्रेस र माओवादी केन्द्र अरु दलसहित चुनावमा गएका थिए । सरकार गठनको तयारी पनि गर्नुभएको थियो, उहाँहरुले एमालेलाई हराउने कोशिस पनि गर्नुभएको थियो । तर, जनताले म्यान्डेट नदिएपछि र छ महिनाभित्र नै मध्यावधि निर्वाचन हुने स्थिति देखापरेपछि हामीले सरकार गठनको प्रयास गर्यौं । हाम्रो प्रयास सफल पनि भयो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?