आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले नामिबियालाई हराएको छ । त्रिवी क्रिकेट मैदानमा भएको खेलमा नामिबियालाई ३ विकेटले हराएको हो ।
नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य नेपालले ४७ ओभर तीन बलमा ७ विकेट गुमाएर भेटायो । नेपालका लागि आशिफ शेखले ८१ र ज्ञानेन्द्र मल्लले ६५ रन बनाए । यस्तै, कुलश मल्लले ४ छक्का र ६ वटा चौकासहित ६२ रन बनाए । रोहित पौडेलले ३९ रन बनाए ।
यसैबीच, आजको खेलमा ज्ञानेन्द्र मल्ल र आशिफ शेखले एकदिवसीय क्रिकेटमा नेपालको लागि सबैभन्दा धेरै रनको साझेदारीको कीर्तिमान बनाएका छन् । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र आसिफले १ सय ३९ रनको साझेदारी गरेका हुन । यो नेपालबाट एकदिवसीयमा अहिलेसम्मकै उच्च साझेदारी हो । यसअघि नामिबियासँगको खेलमै कुशल भुर्तेल र रोहित पौडेलले १ सय ३३ रनको साझेदारी गरेका थिए ।
यस्तै, नेपालले यो शृङ्खलामा दुई सय ७५ रन लक्ष्य भएका दुई वटा र दुई सय ८६ रनको लक्ष्य भएको एउटा खेल जितेको छ । नेपालले सबैभन्दा धेरै लक्ष्य भेटाउने कीर्तिमान पनि यसै शृङ्खलामा बनाएको छ ।
यसअघि त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ रन ७४ रन बनायो । उसका जान ग्रिनले सर्वाधिक ७५ रन बनाए । नेपालका सन्दीप लामिछानेले ३ तथा करण केसीले १ विकेट लिए । हिजो भएको खेलमा नेपालले स्कटल्याण्डलाई तीन विकेटले तथा पहिलो खेलमा नामिबियालाई दुई विकेटले हराएको थियो ।
अब नेपालले यो श्रृंखलाको आफ्नो अन्तिम खेलमा मंगलबार स्कटल्यान्डसँग खेल्नेछ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?