आँबुखैरेनीबाट लाब्दीसम्म कालोपत्रे तयारी अन्तिम चरणमा

दमौली : महाभारत पर्वत श्रृँखलाको उच्च भागमा रहेका छिम्केश्वरी मन्दिरमा पुग्ने सडक आँबुखैरेनीबाट लाब्दीसम्म कालोपत्रे तयारी अन्तिम चरणमा पुगेको छ ।

हाल सम्म साइड कटिङ, नाला निर्माण, वेसमेन्टको काम र ग्राभेल गर्ने काम सकिएको छ । सम्झौता अनुसारको ७५ प्रतिशत काम सकिएको र कालोपत्रे गरेपछि सबै काम पूरा हुने साइड इञ्चार्ज शिव रीजालले बताए ।

हामी फागुनको २० गतेबाट कालोपत्रे सुरु गर्ने र चैत महिना भित्र सक्ने गरी कामको थालानी गरेका छौँ । तीन इन्च बाक्लो कालोपत्रे रहने सडकमा जुगेडीबाट मेसिन ल्याएर कामको थालनी गर्न लाागिएको रीजालले बताए ।

यस अघि एक हजार २०० मिटर कालोपत्रे गरिसकिएको रिजालले बताए । कूल १६ किमी सडकको बाँकी खण्ड कालोपत्रे गर्न लागिएको र यसका सबै काम वर्षात सुरु हुनु अघि सक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?