उच्च अदातल पोखरा अगाडि नारा: पल शाहलाई सफाइ दिने नजिर हेरेर अरू पीडकले सफाइ नपाऊन्

पोखरा : नाबालिग बलात्कार अभियोगबाट पूर्णविक्रम शाह (पल शाह) लाई सफाई दिने उच्च अदालतको नजिर अन्य इजलासले नअपनाओस् भन्दै पोखरामा प्रदर्शन भएको छ।

उच्च अदालत पोखरा अगाडि शुक्रबार अभियन्ताहरूले उक्त माग राख्दै प्रदर्शन गरेका हुन्।

‘नाबालिगसँग सहमतिमै यौन सम्पर्क भए पनि बलात्कार मानिने कानुनी व्यवस्था छ,’ अभियन्ता सलिजा श्रेष्ठले भनिन्, ‘यस्तो कानूनी आधार हुँदाहुँदै शाहलाई अदालतले सफाइ दियो, यो नजिर हेरेर अरू पीडकले सफाइ नपाऊन्।’

नाबालिग बलात्कार अभियोग लागेका शाहलाई गत आइतबार उच्च अदालत पोखराले सफाइ दिएको थियो।

अदालतको कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई सफाइ दिँदा नाबालिगले पठाएको म्यासेजलाई आधार मानेको थियो भने शाहले यौन सम्पर्क गरेको स्वीकार गरेको कल रेकर्डलाई अविश्वास गरेको थियो।

उक्त नजिरलाई आधार मान्दा भविष्यमा बलात्कारका अन्य अभियुक्तलाई पनि सफाइ दिन सक्ने भन्दै सचेत गराउन प्रदर्शन गरेको अभियन्ताहरूले बताएका छन्।

अभियन्ता श्रेष्ठले जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा सजाय सुनाएका अभियुक्तलाई उल्ट्याउने उच्च अदालतको फैसला गलत भएको बताइन्।

शाहलाई जिल्ला अदालत नवलपुरले बाल यौन दुर्व्यवहारमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र १० लाख क्षतिपूर्ति भराउने आदेश उच्च अदालतले उल्ट्याएको थियो।

प्रदर्शनमा उत्रिएकी अर्का अभियन्ता रिसु मगरले पनि उच्च अदालतको उक्त आदेशलाई आधार मानेर जाँदा बलात्कार पीडित खुल्नै नसक्ने अवस्था आउन सक्ने बताइन्।

‘बालिकामाथि बलात्कार बाहिर आउनै सकेको छैन, पल शाहको केसलाई आधार मानेर जाने हो भने पीडितहरू अझै बाहिर आउन सक्दैनन्,’ उनले भनिन्।

प्रदर्शनमा  उत्रिएका उनीहरूले गलत नजिर प्रतिपादन गर्न बन्द गर, ठूलालाई चैन सानालाई ऐन, पितृसत्ताको पहरेदार बनेको न्यायालय होसियार, पोलेर बोलेको, न्यायालयले नै अन्याय गर्दा न्यायको अपिल गर्ने कहाँ? न्यायालयले गल्ती गर्ने अधिकार छैन जस्ता प्लेकार्ड बोकेका थिए।

सेतोपाटि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?