अनाथ बालबालिकासँग जनप्रतिनिधिले मनाए होली

दमौली :  तनहुँको व्यास नगरपालिकाका जनप्रतिनिधिले व्यास नगर समता विद्यालयमा अध्ययन गर्ने बालबालिकासँग सोमबार होली पर्व मनाएका छन् ।

जनप्रतिनिधीसँग होलीपर्व मनाउन पाउँदा बालबालिकाहरु खुसी भएका थिए । जनप्रनिधिले विद्यालयमा आश्रित ४४ जना अनाथ बालबालिकासँग होली खेल्दै उनीहरुलाई मिष्ठान्न भोजनसमेत खुवाएका थिए ।

नगर प्रमुख वैकुष्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, प्रवक्ता जीवन गुरुङ, वडा नम्बर ९ का वडाध्यक्ष सुरेश थापा लगायतको जनप्रतिनिधी तथा शिक्षा शाखाका प्रमुख नविन पराजुलीले बालबालिकासँग होली पर्व मनाएका हुन् ।

वडा नम्बर –७ को शेषमटार, नरङगामा रहेको हाल बन्द अवस्थामा रहेको क्यामिन कोट प्राथामिक विद्यालयमा समता विद्यालय सञ्चालन गरिएको छ । नगरपालिकाले अति विपन्न, अभिभावक विहीन, शिक्षाको पहुँचमा नरहेका ४४ जना बालबालिकालाई खाना र आवासको व्यवस्था विद्यालयमा गरिएको नगरपालिकाले जनाएको छ । ४० लाख खर्च गरेर बन्द भएको विद्यालयको भौतिक संरचना बनाईएको र यो वर्ष १ करोड बजेट विनियोजन गरिएको नगर प्रमुख न्यौपानेले जानकारी दिए ।

५० लाख अध्यन, खाना तथा आवासीय खर्च र ५० लाख रुपियाँ शिक्षक तथा कर्मचारी व्यवस्थापनको लागि एक करोड बजेट विनियोजन गरिएको न्यौपाने बताए ।

शिक्षाबाट कुनै पनि बालबालिकाका बञ्चित नहुन् र उनिहरुको क्षमता विकासको लागि अवसर दिने प्रमुख उद्देश्यले विद्यालय सञ्चालन गरिएको नगरपालिका जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?