स्ववियु निर्वाचन : अधिकांशमा शान्तिपूर्ण उम्मेदवारी दर्ता, केहीमा विवाद

काठमाडौं : आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज देशभरका क्याम्पसहरुमा उम्मेदवारी दर्ता थियो। त्रिवि अन्तर्गतका अधिकांश क्याम्पसहरुमा शान्तिपूर्ण तरिकाले उम्मेदवारी दर्ता भए पनि केही ठाउँमा भने तनाव उत्पन्न भएको छ।

विगत १४ वर्षदेखि त्रिवीमा नियमित हुन नसकेको स्ववियु निर्वाचन अब हुने निश्चित भएको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले छिटफुट क्याम्पसमाबाहेक देशभरि नै सबै क्याम्पसमा उम्मेदवारी दर्ता भएको जानकारी दिए।

उनले उम्मेदवारी दर्ता प्रक्रिया रोकिएका क्याम्पसमा वार्ता गरी सहमति गरेर राति अबेरसम्म भए पनि निर्वाचनमा प्रक्रिया गर्न निर्देशन दिएको बताए।

‘देशभरिका क्याम्पसमा उत्साजनक रुपमा उम्मेदवारी दर्ता भएका छन्’ उनले भने, ‘केही अवरुद्ध भएका क्याम्पसमा राति १० बजेसम्म भए पनि वार्ता र सम्वाद गरेर निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिएका छौं।’

विद्यार्थी संगठनहरु आ–आफ्नो ब्यानरसहित उम्मेदवारी दर्ता गराउन क्याम्पसमा पुगेका थिए। स्ववियु निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवारीले मनोनयन गरिएको हो।

आज बिहान ११ बजदेखि दिउँसो २ बजेसम्म स्ववियु निर्वाचनमा विद्यार्थी संगठनका तर्फबाट उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन्। अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने छन्।

निर्वाचनमा २८ वर्षे उमेर हद बन्दी कायम गरिएको छ। प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार विसं २०५१ फागुन २८ गते जन्म मितिको र सोभन्दा पछि जन्मेका विद्यार्थीले उम्मेदवार बन्न पाउने छन्। निर्वाचनका लागि वार्षिक परीक्षाअन्तर्गत कार्यतालिका प्रकाशन भएसँगै भर्ना र सेमेष्टरतर्फ एक हप्ताअघि नै भर्ना प्रक्रिया रोकिएको थियो।

त्रिविले यसअघि पटकपटक निर्वाचन घोषणा गरे पनि विद्यार्थी संगठनबीच भएको विवादले निर्वाचन हुन सकेको थिएन। प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ यता नियमित हुनसकेको छैन। विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकै पटक आठ वर्षमा विसं २०७३ चैत १५ गते भएको थियो।

निर्देशनालयका निर्देशक अधिकारीले आज मनोनयन पत्र दर्ता गराएका प्रत्यक्षतर्फका उम्मेदवारको नाम नामावली आजै प्रकाशन गरिएको बताए। उनका अनुसार उपत्यकाको त्रिचन्द्र कलेज र आयुर्वेद क्याम्पसमा निर्वाचन प्रक्रिया सुरु भएको छैन। यस्तै आरआर क्याम्पसमा पनि उम्मेदवारी दर्ता हुन सकेको छैन।

शनिबार दिउँसो नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरु खुकुरीसहित निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरी धम्की दिएका थिए। उक्त झडपमा एमाले निकट अनेरास्ववियुका तीन जना विद्यार्थी नेता घाइते भएका छन्।

खुकुरी लिएर क्याम्पसमा आतंक फैलाउने एकीकृत समाजवादीका मनोज चन्दसहित केहीलाई नियन्त्रणमा लिएको छ। उक्त क्याम्पसमा एकीकृत समाजवादीको अनेरास्ववियूले तालाबन्दी गरेको छ। जसलाई सत्ता गठबन्धनमा आवद्ध दलहरुका विद्यार्थी संगठनले ऐक्यबद्धता जनाएका छन्।

उपत्यका त्रिवि केन्द्रीय क्याम्पस, अमृत साइन्स क्याम्पस, नेपाल ल क्याम्पस, पद्मकन्या क्याम्पस, सरस्वती क्याम्पस, पशुपति बहुमुखी क्याम्पसलगायत सबै क्याम्पसमा निर्वाचनमा विद्यार्थी संगठनले उत्साहजनक रुपमा सहभागी भई उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारको नामावली उपर दाबी विरोध भोलि फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ। उम्मेदवारमाथिको दाबी उपरमाथि छानबिन गरेपछि फागुन २८ गते बेलुका ५ बजे नामावली प्रकाशन गर्ने, फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नामा फिर्ता लिने र सोही दिन दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने समय तोकिएको छ।

स्ववियु निर्वाचन आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । निर्वाचनमा देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?