उपराष्ट्रपतिमा रामसहायले यसरी मारे बाजी, यस्तो छ उनको जीवनी

काठमाडौं : उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाट जसपाका उम्मेदवार रामसहायप्रसाद यादवले बाजी मारेका छन् । शुक्रबार भएको उपराष्ट्रपतिमा यादवले एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १४ हजार मतान्तरले पराजित गरेका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको उपराष्ट्रपति हुने उनी तेस्रो व्यक्ति हुन् ।

उनी निर्वाचित भएसँगै १४ वर्षपछि दोस्रो उपराष्ट्रपति पाएको छ । यसअघि २०६५ मा परमानन्द झा पहिलो उपराष्ट्रपति भएका थिए ।

उपराष्ट्रपतिमा यसरी बाजी मारे यादवले ?

मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा यादवले प्रतिनिधित्व गरेको दल जसपा तत्कालीन देउवा नेतृत्वको गठबन्धन त्यागेर एमालेसँग चुनावी तालमेल गरेको थियो । निर्वाचित पछि एमालेकै समर्थनमा प्रचण्ड प्रधानमन्त्री भए ।

१० पुसमा ओली निवास बालकोटमा भएको एमाले, माओवादीसहित ८ दलीय गठबन्धनमा जसपासमेत थियो । तर दलीय भागबण्डाप्रति असहमति जनाउँदै जसपा प्रचण्ड सरकारमा सहभागी भएन ।

मन्त्रिपरिषदमा महत्वपूर्ण मन्त्रालयसहित उपराष्ट्रपति जसपाले दाबी गरेको थियो । जसपाको मागमा एमाले र माओवादी असहमत भएपछि सरकारलाई दिएको समर्थन कायमै राखि सरकारमा नजाने निर्णय गर्यो । राष्ट्रपतिको उम्मेदवार मनोनयन दर्ता गर्ने अघिल्लो दिन प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, माओवादीसहित ८ दलीय बैठकले राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई सर्मथन गर्ने निर्णय गर्यो । उक्त बैठकले उपराष्ट्रपति जसपालाई दिने सहमति भयो ।

उपराष्ट्रपति पाएसँगै जसपाबाट यादवलाई उम्मेदवार बनाउने निर्णय गर्यो । यादवको उम्मेदवारीलाई लिएर एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य, जनमत पार्टीका उम्मेदवार ममता झाले निर्वाचन आयोगमा उजुरी दिइन् ।

उजुरी पश्चात निर्वाचन आयोगले राष्ट्रपतिमा पुरूष उम्मेदवार विजयी भएकाले उपराष्ट्रपतिमा फरक लिङ्ग(महिला) उम्मेदवारी कायम रहनेगरी मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन थियो । तर आयोगका निर्णयलाई चुनौती दिँदै सत्ता गठबन्धनका नेताहरूले आयोगलाई दबाब दिएपछि पूर्वनिर्णयबाट आयोग पछि हट्यो । संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने उल्लेख छ । संविधानको यहि ‘वा’ को व्यवस्थाका कारण यादवको उम्मेदवारी कायमै रहेको आयोगको जिकिर छ ।

को हुन् नव निर्वाचित उपराष्ट्रपति ? 

यादव बारा क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन् । उनले २०५३ सालदेखि सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका थिए । उनी पहिलो संविधानसभा निर्वाचन २०६४ मा मधेसी जनअधिकार फोरम नेपालबाट समानुपातिक सांसद भए ।

२०७४ सालमा बारा क्षेत्र न २ बाटै चुनाव जिते । २०२७ सालमा बाराको सिम्रौनगढमा जन्मिएका यादव १३ पुसमा भएको जसपाको संसदीय दलको नेतामा निर्वाचित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?