एमालेका उम्मेदवार खनालले भने : तनहुँलाई गर्व गर्ने जिल्ला बनाउनेछु

दमौली : नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार सर्वेन्द्र खनालले तनहुँ जिल्लालाई गर्व गर्ने जिल्लाको रुपमा विकास गर्ने बताएका छन् । मंगलबार दमौलीमा नेकपा एमालेको व्यास नगर कमिटीको बैठकलाई सम्बोधन गर्दै खनालले राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत तनहुँलाई गर्व गर्न सक्ने जिल्ला बनाउने प्रतिबद्धता जनाए ।

खनालले प्रहरी महानिरिक्षकको रुपमा ललिता निवासकान्डमा आफुले दोषीलाई कारवाही गर्न फाईल तयार गरेपछि आफू विरुद्ध षड्यन्त्र भएको बताए । आफुले जिन्दगीभर राष्ट्रियताको संरक्षण र सम्बर्द्धनमा लागिरहेको उनले बताए । आफ्नो प्रहरी सेवाकालमा देशको गुन्डाराज, बिकृती र बिसंगतीको अन्त्यकोलागि काम गरेको उनले बताए ।

सरकार र द्वन्द्वरत पक्षविच शान्तिवार्ताको क्रममा शान्ति सुरक्षाको जिम्मेवारी लिएको, मधेस आन्दोलन, विप्लव समुहको शान्ति प्रक्रियामा अवतरण र पृथकताबादी आन्दोलनलाई पनि राजनीतिको मुलधारमा ल्याउनेकामको सुरक्षाको जिम्मेवारी आफ्नो नेतृत्वमा भएको खनालले दावी गरे।

‘मसँग धेरै नेताको कुन्डली छ, आवश्यक परे जनताको माझमा सार्वजनिक गर्नसक्छु’ उनले भने ‘गुन्डाराजको अन्त्य मेरै पालामा भएको हो ।’ आफ्नो नेतृत्वमा नेपाल प्रहरी उत्कृष्ट संगठन बनेको उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?