चितवन : चितवन क्षेत्र नं.२ का उम्मेदवार रवि लामिछानेविरुद्ध परेका तीन वटा उजुरीमा दावी नपुगेको निश्कर्ष निकाल्दै उनको उम्मेदवारी कायम राख्ने निर्णय भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले केहीबेर अघि तीन वटा उजुरीमा दावी नपुगेको भन्दै रविको उम्मेदवारी कायम गर्ने निर्णय गरेको सहायक निर्वाचन अधिकृत इश्वर आचार्यले नारायणी अनलाइनलाई जानकारी दिए । ‘दुई स्वतन्त्रसहित ३ जना उम्मेदवारले हिजो रविविरुद्ध दावीविरोध गर्दै उजुरी दिएका थिए, रविको स्पष्टीकरण पछि उहाँहरुको दावी नपुगेपछि उम्मेदवारी कायम गर्ने निर्णय भएको छ ।”–आचार्यले भने ।
यस्तै अधिवक्ता युवराज पौडेल ‘सफल’ले दिएको उजुरीमा निर्वाचन आयोगले नै निर्णय गर्ने भएको छ । त्यसका लागि आयोगले रवि लामिछानेलाई ७ दिन भित्रमा जवाफ पेश गर्न पत्र पठाएको छ । उक्त पत्र आजै लामिछानेलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको छ । ७ दिन भित्रमा रविले दिएको जवाफलाई जस्ताकोतस्तै आयोगमा पठाएपछि आयोगले नै निर्णय गर्ने आचार्यले जानकारी दिए ।
आज दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा आफै उपस्थित भएर लामिछानेले ६ पेजमा जवाफ दिँदै स्पष्टिकरण बुझाएका थिए । लामिछानेले पुरानै मतदाता नामावलीको आधारमा उम्मेदवारी दिएको भन्दै उजुरी परेको थियो । सोधिएका सबै प्रश्नको बुँदागत रुपमा लामिछानेले जवाफ दिएका छन् । लामिछानेविरुद्ध हिजो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तीन जना उम्मेदवारले दावी बिरोध गर्दै उजुरी दिएका थिए । एउटा मेल मार्फत युवराज पौडेलले समेत उजुरी दिएका थिए ।
सोही उजुरीका आधारमा लामिछानेलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज दिउँसोसम्ममा स्पष्टिकरण माग गरेको थियो । चितवन २ मा लामिछानेसंगै २४ जनाले उम्मेदवारी दिएका छन् । गत मंसिर ४ गते भएको निर्वाचनमा विजयी भएका रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद नै खारेज गरेपछि आउँदो वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?