काठमाडौँ : एसीसी प्रिमियर कपमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।
मलेसियाले दिएको २३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । दिपेन्द्र सिंह ऐरीले चौका प्रहार गर्दै विजयी रन बटुले । उनी ५ रनमा नटआउट रहे । अलराउण्डर कुशल मल्ल ७० रनमा नटआउट रहे । उनले ५ छक्का प्रहार गरे । भीम सार्की ७१ रनमा आउट भए ।
जितका लागि ५ रन आवश्यक हुँदा ठूलो सट खेल्ने चक्करमा भीम क्याचआउट हुन पुगे । नेपाललाई जित दिलाउन भीम र कुशलले ११२ रनको उत्कृष्ट साझेदारी गरे । ओपनर कुशल भुर्तेलले ३८ रन बनाएर क्याचआउट भए । अर्का ओपनर आशिफ शेख १ रनमै आउट हुन पुगे । कप्तान रोहित पौडेल ४२ रनमा आउट भए ।
यसअघि किर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको मलेसियाले ९ विकेटको क्षतिमा २३५ रन बनाएको थियो । उसका लागि कप्तान अहमद फेजले सर्वाधिक ७६ रन बनाए भने वीरनदीप सिंहले ४६ रन जोडे ।
यी दुईले मलेसियाका लागि शतकीय साझेदारी गरेका थिए । एक समय ३ सय रन बनाउने अपेक्षा गरिएको मलेसियाका मध्यम क्रमका व्याटरले उत्कृष्ट व्याटिङ गर्न नसकेपछि २३५ रनमै रोकिन पुग्यो ।
नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान ३ विकेट लिए भने ललित राजवंशीले २ र गुलशन झाले एक विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?