काठमाडौं : निर्वाचन आयोगले उपनिर्वाचनको मौन अवधिमा आचारसंहिता विपरित हुने गतिविधिलाई रोक्न सूक्ष्म अनुगमन गर्ने भएको छ। आइतबार हुने निर्वाचनको लागि आजबाटै मौन अवधि सुरु भइसकेको छ।
आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न आयोगले सम्बन्धित निकायलाई ५ बुँदे निर्देशन जारी गरेका छन्।
जारी विज्ञप्तिमा भनिएको छ, ‘उपनिर्वाचन हुने जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने तथा निर्वाचन (कसुर तथा सजाय)ऐन, २०७३ दफा २४ को उपदफा ५ को व्यवस्था कार्यान्वयनको अनुगमन गर्न विशेष संयन्त्रमार्फत सूक्ष्म अनुगमन गराउने व्यवस्था मिलाइएको छ।’
अनुगमनका लागि बिशेष संयन्त्रमार्फत् सूक्ष्म अनुगमन गराउने व्यवस्था समेत मिलाएको जनाएको छ। निर्वाचनका लागि खटिएका नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सम्बन्धित सबै एकाइ, आयोगबाट खटिएका विशेष अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समितिका पदाधिकारी र अनुगमन अधिकृतले नियमित र सघन अनुगमन गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता, निष्पक्षता कायम गर्ने उल्लेख गरिएको छ।
मतदातालाई मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसको रुपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुने जस्ता कार्य निर्वाचन कसुर भएकाले त्यस्तो कार्य कहीँ कतै भए गरेको पाइएका कानुनबमोजिम तत्काल कारबाही गर्ने उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?