काठमाडौं : व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्नका लागि दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीबाट निष्कासित भई सांसद पदसमेत गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता ढाकाकुमार श्रेष्ठलाई कारबाही नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले सोमबार अल्पकालीन अन्तरिम आदेश दिएको हो । आफूमाथिको कारबाही अवैध रहेको भन्दै श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनलाई रास्वपालाई विपक्षी बनाएका थिए । सोमबार सर्वोच्चले विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
सर्वाेच्चले अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने भन्ने छलफलका लागि दुवै पक्षलाई बाेलाएकाे छ । साथै कारण देखाऊ आदेश पनि दिएकाे छ ।
रास्वपाको कारबाहीपछि समानुपातिक सांसद रहेका श्रेष्ठको सांसद पदसमेत रिक्त भइसकेको छ । सभामुख देवराज घिमिरेले उनको पद रिक्त भएको सूचना प्रतिनिधिसभामा सुनाइसकेका छन् । तर, रिक्त पदमा नयाँ सांसद भने निर्वाचित भइसकेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?