सागर ढकालको प्रश्न– म भाडा नै नतिरी भाग्ने मान्छे हो ?

दमौली :  गत मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा डडेलधुरामा शेरबहादुर देउवासँग लडेका सागर ढकालले आफूविरुद्ध अनावश्यक प्रचार भएको बताएका छन् ।

केही दिनयता ढकालले चुनावताका बसेको घरको कोठाभाडा नतिरेको चर्चा भइरहेको छ । केही मिडियालाई त्यस विषयलाई स्थान दिएका छन् ।

तर, ढकालले बुधबार घरभाडा नतिरेको भन्ने समाचारको खण्डन गरेका हुन् । अफ्रिकामा रहेका ढकालले आज एक भिडियोमार्फत आफूविरुद्ध अनावश्यक चर्चा गरिएको बताएका हुन् ।

“मैले कोठा भाडा तिरेको छैन भनेर कति धेरै हल्ला गरेको, यति सानो कुरामा । जबकि मेरा प्रतिस्पर्धीहरूले त्यत्रो रिसोर्टहरू बुक गर्नभा छ, त्यत्रो त्यत्रो खर्च गर्नुभएको छ, कसैलाई केही मतलब छैन । मेरो तीनहजारको एउटा चुहिने कोठामा यस्तो साह्रो ?,” उनले भनेका छन् ।

उनले आफूले तीन महिना अगाडि मात्र घरभेटीलाई भेटेको पनि बताएका छन् । “आठ महिनाको भाडा तिरेको छैन भनेको छ । यसको स्रोत के हो ? मेरो घरभेटीलाई सम्पर्क गर्न गाह्रो भएको होला । तर, मैले भाडा नै नतिरेको त होइन नि । म भाडा नै नतिरी भाग्ने मान्छे हो ? म त्यत्तिकै लागि राजनीतिमा आएको हो ? मेरो भ्यालू त्यही १० हजार हो ?,” उनले भनेका छन् ।

उनले राजनीतिमा आइरहेको नयाँ पुस्ताविरुद्ध सुनियोजित रूपमा प्रहार भइरहेको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?