विश्वविद्यालयको पाठ्यक्रमलाई समयसापेक्ष बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको पाठ्यक्रमलाई समयसापेक्ष बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई बुधबार दाङमा सम्बोधन गर्दै विश्वविद्यालयको पाठ्यक्रमलाई समयसापेक्ष बनाउने कुरालाई नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रमभित्र समेटेको बताएका हुन् ।

वर्तमान सरकार नेपालभित्रै गुणस्तरीय शिक्षाको विकास एवम् प्रवद्र्धनका लागि विश्वविद्यालयहरूबीच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढावा दिन चाहेको उनले बताए ।

“विद्यार्थी तथा विश्वविद्यालयको जनशक्तिको क्षमता विकास हुनेगरी सरकारी क्षेत्रका अध्ययन, अनुसन्धानका कार्यहरू र सरकारी कार्यक्रमका लागि आवश्यक परामर्श सेवा विश्वविद्यालयमार्फत गर्ने व्यवस्था मिलाउन सरकार प्रतिबद्ध छ,” उनले भने ।

प्रधानमन्त्री प्रचण्डले नयाँ–नयाँ खोज, आविष्कार तथा विकासका आधारहरू सबै शिक्षामा नै निर्भर हुने भएकाले विश्वविद्यालयबाट राष्ट्रले ठूलो अपेक्षा राखेको बताए ।

विविध कारणले गर्दा संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह विगत १२ वर्षयता सम्पन्न हुन सकेको भन्दै प्रधानमन्त्री प्रचण्डले छात्रछात्राहरूको वर्तमान र भविष्यसँग गाँसिएका यस्ता कार्यक्रमहरूलाई समयमै आयोजना गर्न विश्वविद्यालय प्रयत्नरत रहनुपर्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?