सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, बिहीबार पनि बहस हुने

काठमाडौं : काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार)को मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासमा बुधबार पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।

न्यायाधीश ढकालको इजलासबाट गत आइतबार फैसला केन्द्रित बहस सुरू भएको थियो। पहिलो दिन वादी पक्षबाट ३ जना सरकारी वकिलहरुले बहस गरेका थिए। त्यसपछि सोमबार र मंगलबार सार्वजनिक बिदा भएका कारण सुनुवाइ हुन सकेको थिएन।

बुधबारदेखि सन्दीपका तर्फबाट बहस सुरु भएको छ। बुधबार अधिवक्ता मुरारी सापकोटाले सन्दीपका तर्फबाट ओपनिङ बहस गरेका थिए।

सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेका अनुसार बिहीबार हुने सुनुवाइमा सन्दीपका कानुन व्यवसायीको बहस सकिने सम्भावना छ। मुद्दामा प्रतिवादी सन्दीपका तर्फबाट हाइप्रोफाइल वकिलहरूले बहस गर्न वकालतनामा दिएका छन्।

पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले सुरूदेखि यो मुद्दामा बहस गर्दै आएका थिए। यस्तै, वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि सन्दीपको पक्षबाट बहस गर्ने तयारी गरेका छन्। कृष्ण सापकोटा, सविता भण्डारी, सरोज घिमिरेले पनि लामिछानेको वचाउमा बहस गर्नेछन्।

सन्दीपको मुद्दामा दुवै तर्फका वकिलहरुले यसअघि नै बहस नोट बुझाइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?