दमौली : तनहुँको ऋषिङ गाउँपालिका -४ स्थित थप्रेकमा अध्यक्ष कप एवं अन्तर पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रयोगिता सुरु भएको छ । ऋषिङ गाउँपालिकाद्वारा आयोजित प्रतियोगिता आइतवार देखि ऋषिङ गाउँपालिका -४ स्थित महेन्द्र ज्योति प्राथमिक विद्यालयको खेलमैदानमा सुरु भएको हो ।
ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले उद्घाटन गर्दै स्वास्थ्यका लागि खेलकूद अपरिहार्य आवश्यकता रहेको बताए । उनले खेल क्षेत्रको विकासबाट पनि मुलुकको आर्थिक समृद्धि गर्न सकिने जनाउँदै यस्ता प्रतियोगिताले ग्रामीण क्षेत्रका खेलाडीको अनुभव र क्षमताको विकास हुने बताए।
अध्यक्ष तिमिल्सिनले सरकारले सबै स्थानीय तहमा व्यवस्थित खेल मैदान विस्तार गरी खेलकूदसम्बन्धी प्रशिक्षण सञ्चालन गर्न सकेमा नेपाली खेलाडीले पनि बाह्य मुलुकमा पुगेर सफलता हासिल गर्नसक्ने दाबी गरे ।
गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत चिन बहादुर रानाभाटले जानकारी दिए ।
उनका अनुसार भोलि फागुन १३ देखि सञ्चालन हुने पालिकास्तरीय पालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको विजेताले एक लाख ८७ हजार, उपविजेताले एक लाख २० हजार, तेस्रो हुनेले ५४ हजार र सान्त्वना हुनेले १३ हजार ५ सय सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी,उत्कृष्ट सर्भर, ब्लकर, सेटर, लिब्रो, स्पाइकर र प्रशिक्षकले ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका प्रवक्ता विजय दरैले बताए ।
आजदेखि भएको पालिकास्तरीय भलिबल प्रतियोगितामा ९ टोलीको सहभागिता रहेको छ ।







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?