लागुऔषध दुर्व्यसनी नियन्त्रण सम्बन्धि जनचेतनामुलक लघु चलचित्र ‘सङगत’ प्रदर्शन

दमौली : जिल्ला प्रहरी कार्यालय तनहुँ र जेसिआइ व्यास नगरको आयोजनामा आइतबार लागु औषध दुर्व्यसनी नियन्त्रण सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत दमौलीका स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीहरुको माझ ‘सङगत’नामक जनचेतनामुलक लघु चलचित्र प्रदर्शन गरिएको हो ।

खैरहनी नगरपालिका र इलाका प्रहरी कार्यालय खैरहनीको सहयोगमा निर्माण गरिएको ४५ मिनेटको लघु चलचित्र ‘सङगत’ प्रदर्शन गरिएको छ । किशोर चौधरीले निर्देशन गरेको उक्त चलचित्रका विषयवस्तु अनुज विश्वकर्माले लेखेका हुन् । युवाहरु दुर्व्यसनीमा फस्न सक्ने कारण मध्ये साथी भाइको गलत सङगतको विषयमा चलचित्र केन्द्रित छ ।

कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले अहिलेका युवाहरुको महत्वाकांक्षा बढी भएकाले कुलतमा जान सक्ने सम्भावना उच्च रहेको बताए । तनहुँ लागु औषध ओसारपसारको ट्रान्जिट बनिरहेको अवस्थामा यो डकुमेन्ट्री प्रदर्शन निकै सान्दर्भिक भएको समेत न्यौपानेको भनाइ छ ।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले समाजलाई दुर्व्यसनीबाट मुक्त गर्न घर, परिवार, समाज र  प्रशासन सबैको एकता आवश्यक पर्ने बताए । धेरै युवाहरु दुर्व्यसनीको सिकार भइरहेको अवस्थामा उक्त डकुमेन्ट्रीले सकारात्मक सन्देश प्रवाह गर्न सफल हुने उनले विश्वास व्यक्त गरे ।

साथै प्रमुख प्रहरी उपरीक्षक अपिलराज बोहराले लागु औषध नियन्त्रण गर्न प्रहरी प्रशासनको प्रयत्नले मात्र सम्भव नभएकाले नागरिकले पनि यसमा सहकार्य गर्न आवश्यक  रहेको बताए ।

सोही अवसरमा आदिकवि भानुभक्त क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले युवाहरुलाई सचेत बनाउन चलचित्रले महत्वपुर्ण भूमिका निवार्ह गरेको बताउदै निर्माता, निर्देशन र आयोजकप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा स्वागत गर्दै जेसिआइ व्यास नगरका अध्यक्ष नविन पुरीले पछिल्लो समय युवाहरु कुलतमा फस्ने क्रम बढ्दै गएकाले सकारात्मक मार्गमा लाग्न प्रेरित गर्न सचेतनामुलक कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा दमौलीका विभिन्न कलेजका करिब ३ सय जना विद्यार्थी एवं प्राध्यापकहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?