दमौली, जेठ २५ — नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय फिर्ता लिन माग गर्दै सङ्कलन गरिएको हस्ताक्षर सरकारलाई बुझाएको छ।
महासङ्घ शाखाले सोमबार प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीमार्फत सरकारसमक्ष हस्ताक्षर बुझाएको हो। शाखाले जेठ ७ गते सञ्चालन गरेको हस्ताक्षर सङ्कलन अभियानअन्तर्गत प्राप्त हस्ताक्षर सरकारलाई पेश गरिएको जनाएको छ।
हस्ताक्षर बुझाउने कार्यक्रममा शाखाका अध्यक्ष डिपी अधिकारी, पूर्वअध्यक्ष प्रकाशचन्द्र भट्टराई, ओमकार आचार्य तथा सल्लाहकार नारायण खड्कालगायतको सहभागिता रहेको थियो।
महासङ्घले सरकारी निर्णयप्रति असहमति जनाउँदै थप आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ। तय कार्यक्रमअनुसार जेठ २७ र २९ गते बिहान ११ बजेदेखि १२ बजेसम्म जिल्ला प्रशासन कार्यालय तनहुँ परिसरमा धर्ना दिइने शाखाले जनाएको छ।
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने निर्णयले प्रेस स्वतन्त्रता, सञ्चार क्षेत्रको आर्थिक दिगोपना तथा लोकतान्त्रिक अभ्यासमा नकारात्मक प्रभाव पार्ने महासङ्घको भनाइ छ। उक्त निर्णय पुनर्विचार गरी सच्याउन महासङ्घले सरकारसँग आग्रह गरेको छ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?