करण केसीको ह्याट्रिक, लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा

पपुवा न्यूगिनीलाई पराजित गर्दै नेपाल घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी-२० श्रृङ्खलाको फाइनलमा प्रवेश गरेको छ ।

नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ३७ रनले हराएकाे हो ।

नेपालले दिएकाे दुई सय चार रनकाे लक्ष्य पछ्याएकाे पीएनजी १९ ओभर चार बलमा एक सय ६६ रनमा आलआउट भयाे ।

बलिङतर्फ नेपालका करण केसीले ह्याट्रिक गर्दै पाँच विकेट लिए । करणले तीन ‌ओभर चार बलमा २१ रन दिएर पाँच विकेट लिएका हुन् । यस्तै साेमपाल कामी र अविनाश बाेहराले दुई/दुई विकेट लिँदा सन्दीप लामिछानेले एक विकेट लिए ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय तीन रन बनायाे । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६६ रन बनाए । यस्तै राेहित पाैडेलले ४१, आशिफ शेखले ३८ रन बनाउँदा टी–२० मा डेब्यु गरेका आदिल आलमले ११ बलमा ३१ रन बनाए । यस्तै कुशल भुर्तेलले १७, आरिफ शेखले नटआउट दुई र करण केसीले १ रन बनाउँदा दीलिप नाथ शून्यमै आउट भए ।

बलिङतर्फ पीएनजीका कबुआ माेरेले तीन विकेट लिए । यस्तै रिले हिकुरेले दुई विकेट लिँदा नाेरमन भानुआ र नाेसइना पाेकनाले एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?