काठमाडौं : नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा अपराजित रहँदै च्याम्पियन बनेको छ । नेपालले फाइनलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीको सानदार अलराउन्ड प्रदर्शनमा पपुवा न्युगिनीलाई ५० रनले हराउँदै त्रिकोणात्मक टि२० आई सिरिजको च्याम्पियन बनेको हो
टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । नेपालका दीपेन्द्रसिंह ऐरीले ३८ बलमा ५ चौकासहित सर्वाधिक ५४ रनमा अविजित रहे । दीपेन्द्रले ३५ बलमा आफ्नो टि२० आई करिअरको पाँचौं अर्धशतक पूरा गरेका थिए । करण केसीले १२ बलमा ५ चौका र १ छक्कासहित ३३ रनमा अविजित रहे ।
दीपेन्द्र नेपालबाट टि२० आईमा १ हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । दीपेन्द्रले लगातार तेस्रो अर्धशतक प्रहार गरेका हुन् । यसअघि पीएनजीविरुद्ध ६६ र मलेसियाविरुद्ध १ सय १० रनको इनिङ खेलेका थिए ।
नेपालले प्रस्तुत गरेको १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.२ ओभरमा १ सय १८ रनमा अल आउट भयो । पीएनजीका सेसे बाउले ३८ बलमा १ चौका र ६ छक्कासहित सर्वाधिक ५९ रनको योगदान दिए पनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
नेपालका दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहरा र करण केसीले १-१ विकेट लिए ।
नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो । लिगमा नेपालले पीएनजीलाई १५ रन र ३७ रनले हराएको थियो । मलेसियालाई ६ विकेट र ८५ रनले हराएको थियो । दुई ओडिआई खेलको सिरिजमा भने पपुवा न्युगिनीले क्लिनस्विप गरेको थियो ।
नेपाल, पपुवा न्युगिनी र मलेसियाको त्रिकोणात्मक टि२० आई सिरिजमा नेपालका दीपेन्द्रसिंह ऐरी प्लेयर अफ द सिरिज(सर्वोउत्कृस्ट खेलाडी) हात पर्दा नेपालकै कारण केसी उत्कृस्ट बलर र पीएनजी उमर उत्कृस्ट ब्याटर चुनिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?