व्यासको मेयर बन्न कांग्रेसका १५ जनाले दिए निवेदन

दमौली :  तनहुँको व्यास नगरपालिका प्रमुखको उम्मेदवार बन्न आकांक्षा राख्दै १५ जनाले नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा निवेदन दिएका छन् । ३० वैशाखमा हुने स्थानीय चुनावका लागि व्यासको मेयर चयनका लागि कांग्रेसले निवेदन माग गरेको थियो ।

मेयर पदमा आकांक्षा राख्दै निवेदन दिनेमा हालका मेयर बैकुण्ठ न्यौपाने, जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्ले, रघुनाथ पौडेल, देवकुमार श्रेष्ठ, लक्ष्मीभक्त खनाल, विश्व बाँस्तोला, अशोककुमार श्रेष्ठ, समुन्द्र गोदार, डम्बरबहादुर अधिकारी,डा . शेषरमण न्यौपाने, हरिदत्त पौडेल, शंकर पौडेल, विद्या खनाल, वृषराज श्रेष्ठ र दीपकराज जोशी छन् ।

त्यस्तै उपप्रमुखका लागि कांग्रेसका ७ जनाले निवेदन दिएका छन् । उपप्रमुखमा हालकै उपप्रमुख मीरा जोशी, नारायणी अधिकारी, कल्पना कोइराला पोखरेल, इन्दिरा दरै, नोमा थापा, मुन्नी हमाल ठकुरी शाही, विणा कैनीले उपप्रमुख पदका लागि निवेदन दिएका छन् ।

व्यासमा अघिल्लो स्थानीय चुनावमा पनि प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसले नै जितेको थियो । कांग्रेसका उम्मेदवार बैकुण्ठ न्यौपानेले नेकपा एमालेका उम्मेदवार शंकरनायण श्रेष्ठलाई करिब ४ हजार मतान्तरले विजयी हासिल गरेका थिए ।

त्यस्तै  उपप्रमुखमा कांग्रेसकै मिरा जोशीले नेकपा माओवादी केन्द्रकी उम्मेदवार अतिन्द्रकेशरी न्यौपानेलाई करिब १० हजार बढी मतान्तरले पराजित गरेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?