एमाले अध्‍यक्ष ओलीले घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा गरे

लमजुङ :  लमजुङ क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँलाई सुखी गाउँ घोषणा गरिएको छ । गाउँमा बसी आफैं उत्पादन गर्ने, आत्मनिर्भर बन्ने र आर्थिकरूपमा बलियो भएकाले यस गाउँलाई सुखी गाउँ भनिएको घलेगाउँ क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

‘शहरमा पाउने सुविधा घलेगाउँ पाउन सकिन्छ । सडक, बिजुली, टेलिफोन, इमेल, इन्टरनेट, घरघरमा खानेपानी, शौचालय, विद्यालय, आधारभूत स्वास्थ्य सेवालगायतको सुविधा पुगेको छ,’ उनी भन्छन्, ‘स्थानीयले पर्यटन विकास गरी सुखी भएको र आनन्दका साथ बसेकाले सुखी गाउँ भनिएको हो ।’

एक सय ३० घरधुरी रहेको यहाँ सबै एकै प्रकारको रातो रङको जस्ता पाताको छानो छ । विसं २०५७ वैशाख २३ गते प्रथम महोत्सव गरी घलेगाउँमा १२ घर घरवास (होमस्टे) स्थापना गरेको यहाँ यतिबेला ४२ घरमा घरवास कार्यक्रम छ । सडक, बिजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय, स्वास्थ्यलगायत आधारभूत सुविधापछि घलेगाउँ २०७६ साल मङ्सिर १७ गते स्मार्ट भिलेज घोषणा भएको थियो ।

गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)ले नेपालकै उत्कृष्ट होमस्टेको रूपमा पुरस्कृत गरेको थियो भने दुई पटक दक्षिण एशियाकै नमूना घलेगाउँ घोषणा भइसकेको छ । यहाँ जिल्लाकै सबैभन्दा बढी पर्यटक यस गाउँमा आउने गर्दछन् । होमस्टे सञ्चालन गरिएको ४२ घरबाहेक अन्य घरका वासिन्दाले पर्यटकका लागि आवश्यक अन्न, तरकारी, फलफूल, मासु, अण्डालगायत उत्पादन र स्वरोजगारमा जीवनयापन गर्दै आएका छन् । केही चोया, ऊन, अल्लोलगायतबाट हस्तकलाका सामग्री तयार पार्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?