ललितपुरको अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकको मृत्यु, ६ जना घाइते

काठमाडौं : ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

उनका अनुसार ६ जना घाइतेको उद्दार गरी अस्पताल पुर्‍याइएको छ।

‘अक्सिजन भर्ने क्रममा विष्फोट भएको हो। एक जनाको मृत्यु भएको छ,’ उनले भने।

मृतक भारतीय नागरिक छन्। प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहका अनुसार मृतक भारतको चम्पारन घर भई कम्पनीमा काम गर्दै आएका ४५ वर्षीय वृज महतो छन्।

घाइतेको उपचारको लागि पाटन अस्पताल लगिएको छ। एक जनाको अवस्था गम्भीर भएको प्रहरी उपरीक्षक शाहले बताए।

सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?