काठमाण्डौ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संविधानमा लिपिबद्ध श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयन गरी श्रम क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
१३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना जारी गर्दै उहाँले सुरक्षित कार्य थलो, उचित पारिश्रमिक, सामाजिक सुरक्षाको व्यवस्था, नीति निर्माणमा श्रमिक वर्गको सहभागिता, सबै प्रकारका विभेदको अन्त्य र फलदायी रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि कानुनी, नीतिगत एवं प्रक्रियागत सुधारको प्रयास गरिएको बताउँदै उहाँले वैदेशिक रोजगारी व्यवस्थापन, आन्तरिक रोजगारी प्रवर्द्धन, सेवा प्रवाहमा सुधार, सङ्गठन व्यवस्थापन र विस्तार तथा सामाजिक सुरक्षाको क्षेत्रमा पछिल्ला नवीन कामका थालनी भएको बताए ।
सरकार, रोजगारदाता र श्रमिकले हातेमालो गर्दै उत्पादन र उत्पादकत्व वृद्धिमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले स्वदेशमा कार्यरत श्रमिकको अधिकारका लागि न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र श्रम कानुनको प्रभावकारी कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
अधिकारप्राप्त राष्ट्रिय श्रम आयोग गठन गर्ने, श्रमिकका लागि अस्पताल बनाउने, श्रम कार्यालयहरू विस्तार गर्ने, औपचारिक तथा अनौपचारिक दुवै क्षेत्रका श्रमिकसहित विदेशमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा समावेश गर्ने, वैदेशिक रोजगारीमा श्रमिक पठाउन गन्तव्य मुलुकको आवश्यकताअनुसारको सीपयुक्त जनशक्ति तयार गर्नेसहितका योजना मन्त्रालयले अघि बढाएको उनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?