तनहुँमा चुनावी प्रचारप्रसार खेतबारीदेखि सामाजिक सञ्जालसम्म

दमौली : तनहुँमा स्थानीय तह निर्वाचनको मिति नजिकिदै जॉदा राजनीतिक दलका उम्मेदवार घरदैलोमा व्यस्त छन् । जिल्लामा १० स्थानीय तहको ८५ वडामा एक हजार ६३५ उम्मेदवारले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्दै छ ।

सबैजसो उम्मेदवार यतिबेला मत माग्दै घरदैलो गरिरहेका छन् ।उम्मेदवारहरू घरमा नभेटेका मतदातालाई खेतबारीमा पुगेर भेट्दै छन् । खेतबारीमा काम पनि सघाएजस्तो गर्छन् उम्मेदवारहरूले केहीबेर मतदाता रिझाउन ठाउँ–ठाउँमा चुनावीसभा पनि भइरहेका छन् । यसपालि उम्मेदवारले प्रचारप्रसारका लागि सामाजिक सञ्जालको पनि अधिकतम प्रयोग गरिरहेका छन् ।

विशेष त फेसबुक र टिकटकमा बढी प्रचार गरेको देखिन्छ । चुनावी घोषणापत्रको सार्वजनिकसँगै घरदैलो अभियानको प्रचारप्रसार फेसबुकमार्फत भइरहेका छन् । फेसबुक र टिकटकमा भिडियो बनाएर भोट अपिल भइरहेका छन् । 
सामाजिक सञ्जालको दुनियाँमा प्रवेश नै नगरेका उम्मेदवारको पनि प्रचारप्रसार समूहले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् । व्यास नगरपालिकाको मेयरमा दोहोरिनलाई नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका बैकुण्ठ न्यौपाने उम्मेदवारी दर्तासँगै फेसबुकमा जोडिएका छन् । 

उनको प्रचारप्रसार समूहले फेसबुक पेज खोलेर अपडेट गरिरहेका छन् । बैकुण्ठको घोषणापत्रसँगै घरदैलो अभियानमा गरेको सम्बोधनको भिडियो पेजमा अपडेट गर्दै आएको छ  ।

तस्बिर सामाजिक संजाल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?