सिसी क्यामेरा सहित मतगणना स्थललाई व्यवस्थित बनाइदै

तनहुँ÷२८, बैशाख- यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मतदानपछि मत गणनाको लागि मतगणना स्थललाई व्यवस्थित बनाइदैछ । १० वटै पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थललाई व्यवस्थित गर्न लागिपरेको छ । स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा मतगणना गर्ने वातावरणको व्यस्थापन भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पालिकाले मतगणनाका लागि स्थलको तयारी गरिरहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाले जानकारी दिए । उनका अनुसार मतगणनाका लागि सम्पूर्ण तवरबाट व्यवस्थापन कार्य भइरहेको छ ।
मतगणनाका लागि मतगणना स्थललाई सुरक्षित बनाइएको उनले बताए । सबैको चित्तबुझ्दो तवरबाट मतगणना स्थलको व्यवस्थापन गरिनेछ । व्यास नगरपालिकाको मतगणनाका लागि जिल्ला समन्वय समिति तनहुँको भवनको ३ वटा कोठामा मतगणना स्थल निर्माण गरिएको उनले बताए । ‘मतगणना स्थललाई कसरी व्यवस्थित, स्वच्छ, निष्पक्ष सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउने भन्ने तर्फ लागेका छौं, आयोगको निर्देशन अनुसार नै व्यवस्थित मतगणना स्थल बनाइरहेका छौं,’ ढुङ्गानाले भने ।
३ वटा वडाको ३ ठाउँमा एकैसाथ मतगणना गर्ने व्यवस्था गरिएको ढुङ्गानाले बताए । ५ दिनमा मतगणना सम्पन्न गर्ने गरी व्यवस्थापन गरिएको उनको भनाई छ । मुख्य निर्वाचन सहित जिल्लाका सबै पालिकामा मतगणना स्थलको व्यवस्थापन गरिएको छ । मतगणना स्थल बिहीबारसम्ममा तयार हुने उनले बताए ।

भानु नगरपालिकाको होरालो माध्यमिक विद्यालयमा मतगणना गरिने जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार शुक्लागण्डकी नगरपालिकाको नगरपालिकाको सभाहलमा मतगणना गरनेछ । भिमाद नगरपालिकाको सिटिइभिटीको भवनमा, म्याग्दे गाउँपालिकाको मिन माध्यमिक विद्यालयमा, घिरिङ, ऋषिङ, आँबुखैरेनी र देवघाट गाउँपालिकाको गाउँपालिकाको सभाहलमा मतगणना गर्ने व्यवस्था गरिएको ढकालले बताए ।

जिल्लाका सबै पालिकाको मतगणना स्थल निर्माणको काम तिव्र रुपमा भइरहेको उनले बताए । सिसी क्यामेरा सहित मतगणना स्थलमा बासको बार लगाइएको छ । बार भन्दा बाहिर उम्मेदवारका प्रतिनिधि बस्ने, गणना गरी सुनाउन माइकिङको व्यवस्था, मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?