तनहुँमा मतदान उत्साहजनक

दमौली : तनहुँ जिल्लामा स्थानीय तहको निर्वाचनका क्रममा मतदाताहरुले शान्तिपूर्ण वातावरणमा मताधिकार प्रयोग गरिरहेका छन् ।जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले  जिल्ला भरका मतदान केन्द्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताले उत्साहजनक रुपमा मताधिकार प्रयोग गरिरहेको जानकारी दिए ।

मध्याह्नसम्म जिल्लाको चार नगरपालिका, छ गाउँपालिका र ८५ वडामा  ३५  देखि ४० प्रतिशतसम्म मत खसेको अनुमान गरिएको उनले बताए । जिल्लाका केही स्थानीय तहमा आजैदेखि मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।

निर्वाचनबाट तनहुँमा चार सय ४४ जनप्रतिनिधि निर्वाचित हुने भएका हुन् । एक जना दलित महिला सदस्य निर्विराेध निर्वाचित भइसकेकी छन् ।

चार नगरपालिकाबाट प्रमुख र उपप्रमुख गरी आठ जना निर्वाचित हुनेछन् । छ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी १२ जना निर्वाचित हुनेछन् । त्यस्तै ८५ वडाबाट एक अध्यक्ष र चार सदस्य गरी चार सय २५ जना निर्वाचित हुनेछन् ।

तनहुँका दश पालिकामा एक हजार छ सय भन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?