Close This

९९ वर्षीय वृद्धले स्ट्रेचरमा आएर दोस्रो पटक पनि मतदान

 दमौली : तनहुँको व्यास नगरपालिका–८ का ९९ वर्षीय वृषसिं गरुङले दोस्रो पटक स्ट्रेचरमा आएर पुनः मतदान गरेका छन् । व्यास–८ रिस्तीस्थित गाविस भवन फेदी मतदान केन्द्रमा आज भएको पुनः मतदानमा गुरुङले पहिलो मत हालेका हुन् ।

लामो समयदेखि अशक्त गुरुङको हालै मात्रै प्रोष्टेटको शल्यक्रिया गरिएको थियो । उक्त मतदान केन्द्र गुरुङको घरदेखि दश मिनेटको दूरीमा अवस्थित छ ।गाविस भवन फेदी अन्तर्गत (क) मतदान केन्द्रमा सात सय ५६ र (ख) मतदान केन्द्रमा आठ सय २० मतदाता रहेका छन् ।

स्थानीय तह निर्वाचन अन्तर्गत वैशाख ३० गते आयोजित मतदान कार्य निर्वाचन आयोगले रद्द गरी आजका लागि तोकेको थियो । उक्त दिन दिउँसो व्यास नगरपालिकाका प्रमुखका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि आक्रमण भएपछि निर्वाचन आयोगले मतदान रद्द गर्ने निर्णय गरेको थियो । उक्त दिन पनि गुरुङलाई स्ट्रेचरमा बोकेर ल्याएर मतदान गराइएको थियो ।

जिल्ला प्रशासन कार्यालय तनहुँले मतदान केन्द्रमा अनधिकृत व्यक्तिलाई प्रवेश निषेध गरेको छ । बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म अनधिकृत व्यक्तिलाई प्रवेश निषेध गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?