दमौली : दरै समुदायले बिहीबार गंगा दशहरा पर्व मनाएका छन् । व्यास नगरपालिका–१० दुम्सीचौर (दुम्चुर) समाजको आयोजनामा गंगा दशहरा पर्वको अवसरमा शुभकामना आदानप्रदान सहित दरै समुदायले गिदरीको काठमा आगो बालेर घरमा भित्र्याउदै दशहरा पर्व मनाएका हुन् ।
दशहरा पर्वको व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले गिदरीको काठमा आगो बालेर उद्घाटन गरेकी थिइन् । कार्यक्रममा बोल्दै उपप्रमुख दरैले भाषा, संस्कार र संस्कृतिको संरक्षण गर्नुपर्ने बताइन् । उनले दरै जातिको भाषा, संस्कार र संस्कृति लोप हुने अवस्थामा रहेकाले संरक्षणका लागि नयाँ पिढीलाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिइन् ।
व्यास १० का वडाध्यक्ष खेमराज पोख्रेलले दरै जातिको बसोबास बढी रहेका वडा भएकाले यसलाई समेटेर अगाडि बढ्ने बताए । उनले दरै जातिको विकास र नेतृत्व विकासमा वडाको तर्फबाट सदैव सहयोग रहने बताए ।
निवर्तमान वडाध्यक्ष तुलसीराम सापकोटाले दरै जातिको लोप हुन लागेको भाषा, संस्कार र संस्कृतिको संरक्षणमा अन्य जातिले सहयोग गर्नुपर्ने बताए ।
दशहरा पर्वको अवसरमा दरै समाजले स्थानीय तह निर्वाचनमा निर्वाचित उपप्रमख इन्दिरा दरै, वडा अध्यक्ष खेमराज पोख्रेल, वडा सदस्यहरु बासना कुँवर, खिनुमाया विक, ईश्वर पौडेल, यज्ञ प्रसाद शर्मा कार्यपालिका सदस्य चेत बहादुर दरैलाई सम्मान समेत गरिएको थियो । दुम्सीचौर दरै समाजका अध्यक्ष पदम दरैको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत सोनु दरै र कार्यक्रमको सञ्चालन सन्ध्या दरैले गरेकी थिइन् ।
यस पर्वमा दरै समुदायले गिदरीको काठमा आगो निकाल्ने र काठबाट निस्किएको नयाँ आगोले खाना पकाएको खाना तथा भोज सहित आगो घरमा भित्र्याउने प्रचलन छ ।
गंगा दशहराको दिनमा दरै समुदायले पूुजा आराधना सहित गिदरीको काठबाट निकालिएको नयाँ आगो भित्र्याउन चुल्होलाई लिपपोत गर्दछन् र पुजा गरी निकालिएको आगो घर घरमा लाने गर्दछन् । नयाँ आगो भित्र्याएपछि मात्रै खाना पकाउने, खाने र खुवाउने प्रचल रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?