दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखरस्थित बाँध नजिक शुक्रबार बिहान सडक भासिँदा मृत्यु भएका दुवै पुरुषको सनाखत भएको छ।
घटनापछि दमौली अस्पतालमा राखिएको शव मृतकका आफन्तजनले पहिचान गरेपछि सनाखत भएको हो। उक्त घटनामा परी मृत्यु हुनेमा गोरखाको सिरानचोक गाउँपालिका–५ छोप्राक घरभई हाल आँबुखैरेनीमा बस्दै आएका ३५ वर्षीय केशव घिमिरे र मकवानपुरको हेटौँडा नगरपालिका–७ निवासी ३३ वर्षीय हेमबहादुर भुजेल रहेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए।
भासिएको सडक विस्तारका लागि सडक डिभिजन कार्यालयका प्राविधिक टोलीले काम गरिरहेको छ। ठूला सवारी पास नहुने भएकाले साना सवारीलाई काम गरेको समयमा रोकेर अन्य समयमा पठाउने गरिएको निरीक्षक नेपालले बताए ।
सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव भेटिएपछि पोखरा र चितवनबाट आएको गोताखोर टोलीले नदीमा खोजतलास कार्यलाई तीव्रता दिइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?