आँबुखैरेनी–मुग्लिन खण्डमा केही दिन ठूला सवारी चलाउन नपाइने

दमौली : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारी साधन नचल्ने भएका छन्। आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएकाले केही दिन ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो।

उक्त सडकखण्डबाट साना सवारी साधनलाई एकतर्फी रुपमा सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। सडक भासिएको ठाउँबाट माइक्रो, साना कार, मोटरसाइकल मात्रै वारपार गराइएको उनले बताए।

जिल्ला प्रशासन कार्यालयले उक्त खण्डमा शुक्रबार राति ७ बजेदेखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्मका लागि यातायात सञ्चालन पूर्णरुपमा बन्द गरेको छ। रातिको समयमा जोखिम हुने भएकाले यातायात सञ्चालनमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले बताए।

सडक भासिएर एउटा कार र एउटा मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा हेटौँडाका ३५ वर्षीय हेमबहादुर भुजेल र गोरखा घर भई आँबुखैरेनी–२ बस्ने ३३ वर्षीय केशव घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?