दमौली : तनहुँको व्यास नगरपालिका–७ र म्याग्दे गाउँपालिका– ६ जोड्ने साँघेखेलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । पुल निर्माण पश्चात त्यसक्षेत्रका बासिन्दाहरु हर्षित भएका छन् ।
बर्षायामको समयमा खोला तरेर गाउँ जानुपर्ने बाध्यताले कतिपय अवस्थामा खोलाले मानिस बगाएर सास्ती भोग्नु परेका स्थानीयबासीले पुल निर्माण पश्चात आवतजावतमा सहज हुने बताएका छन् ।
नेपाल सरकार र म्याग्दे गाउँपालिकाको कूल रु.४३ लाख दश हजार एकसठ्ठीको लागतमा उक्त पुल निर्माण गरिएको हो ।
नेपाल सरकारको ८५ प्रतिशत र म्याग्दे गाउँपालिकाको आन्तरिक स्रोतबाट पन्ध्र प्रतिशत बजेट बिनियोजन गरेको साँगे खोला लामेरह पानी घट्टा झोलुगे पुल निर्माण समितिका अध्यक्ष रेख बहादुर थापाले जानकारी दिए ।
विसं ०७८ चैत्र १३ गते शुरु गरी विसं ०७९ असार १५ भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता भएकोमा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ६७ मिटर लामो पुल निर्माण पछि दुई पालिकाका करिब पाँच सय मानिसहरु प्रत्यक्ष लाभान्वित हुने गैरसरकारी संस्था समन्वय समिति तनहँु,झोलुगे पुल कार्यक्रम संयोजक राजेश्वर हड्खलेले जानकारी दिए ।
गैरसरकारी संस्था समन्वय समितिले पुल निर्माणको लागि परामर्श र प्राविधिक सहयोगको भूमिका निर्वाह गर्दै आएको उनले बताए । उक्त स्थानमा पुल नहुँदा बर्षेनी मानिस बगाएर मानवीय क्षति हुने गरेकोले त्यसक्षेत्रका बिगत लामो समय देखि पुल निर्माणको लागि स्थानीयबासीले माग गर्दै आएका थिए ।
पुल निर्माण पश्चात म्याग्दे गाउँपालिका–६ सर्वालाङ्गका स्थानीयबासीले एक घण्टा हिड्नुपर्नेमा बाध्यताको अन्त्य हुनुका साथै छोटो दुरीमा आवतजावत गर्न पाउने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?