भुजेल मातृभाषा साक्षरता कार्यक्रम शुरु

दमौली : भुजेल समुदायको भाषा, संस्कृति संरक्षणका लागि माृतभाषा साक्षरता कार्यक्रम शुरु भएको छ । भुजेल समाज सेवा समिति तनहुँको आयोजनामा १० दिने मातृभाषा साक्षरता कार्यक्रम शुरु भएको हो ।
कार्यक्रमको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँका अध्यक्ष बसुन्धरा घर्तीले उद्घाटन गरिन् । कार्यक्रममा बोल्दै अध्यक्ष घर्तीले भुजेल समुदायको भाषा, संस्कार, संस्कृतिको जगेर्ना गर्न राज्यले सहयोग गर्नुपर्ने बताइन् । राज्यको सहयोगसँगै समुदायले पनि चासो दिनुपर्नेमा उनको जोड थियो ।

अल्पसंख्यक जाति भुजेल समुदायको भाषा, संस्कृति लोपोन्मुख अवस्थामा पुगेकोले संरक्षणको खाँचो रहेको अध्यक्ष घर्तीले बताइन् । ‘भाषा, संस्कार, संस्कृति एउटा पुस्ताले नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ र संरक्षणमा युवाहरुको पनि चासो हुनुपर्छ अनि मात्रै हाम्रा पहिचानहरु सुरक्षित हुनेछन्,’ उनले भनिन् ।

भुजेल समाज सेवा समिति तनहुँका अध्यक्ष तिर्थ बहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा दुरा समाजका अध्यक्ष सुसिला दुरा, कुमाल समाजका अध्यक्ष आलोक कुमाल, रेशम भुजेल, गोपाल घर्ती, मुक्त बहादुर भुजेल लगायतले समुदायको भाषा, संस्कार, संस्कृति संरक्षणमा जागरण आवश्यक रहेको बताएका थिए । समाजका सचिव पृथ्वी भुजेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?