दुई मिडियाविरूद्ध मेयर बालेनले दिए प्रेस काउन्सिलमा उजुरी

काठमाडौं : काठमाडौं महानगरपालिकाले दुइटा सञ्चार माध्यमलाई कारबाहीको माग गर्दै प्रेस काउन्सिलमा उजुरी दिएको छ।

काठमाडौं महानगरपालिकाले दुइटा सञ्चार माध्यमलाई कारबाहीको माग गर्दै प्रेस काउन्सिललाई पत्र लेखेको मेयर बालेन शाहले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्।

मंगलबार महानगरले विज्ञप्ति जारी गर्दै महानगरपालिकाको आर्थिक वर्ष २०७९\८० को प्रस्तावित बजेट तथा कार्यक्रममा अमुक संस्थालाई रकम उपलब्ध गराउने भनी तथ्यहीन, भ्रामक र कपोकल्पित समाचार प्रकाशन गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार माध्यमहरूले व्यवसायिक पत्रकारितालाई ख्याल नगरी एकतर्फी रूपमा प्रकाशन र प्रसारण गरेको तथ्यहीन समाचारहरूले भ्रम सृजना हुनाको साथै यसबाट व्यक्तिगत र संस्थागत आँच पुगेको छ।’

विज्ञप्तिमा मेयर बालेनले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनले भ्रामक र तथ्यविहीन समाचार प्रकाशन र प्रसारण गरेको हुँदा कारबाही गर्न माग गरेका छन्।

पत्रकार आचार संहिता २०७३ बमोजिम कर्तव्य पालना नगरेको देखिएको हुँदा उक्त सञ्चार माध्यमलाई कारबाही गर्न माग गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?