चाडपर्व लक्षित बजार अनुगमन प्रभावकारी बनाइने

दमौली : जिल्ला प्रशासन कार्यलय तनहुँले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिने भएको छ ।

बुधवार प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको अध्यक्षतामा बैठकले सरोकारवाला निकायलाई जिम्मेवारी तोक्दै बजार अनुगमन प्रभावकारी बनाउने निर्णय गरेको हो ।

बैठकले चाडपर्वमा अत्यावश्यक उपभोग्य वस्तुको व्यवस्थापनका लागि आवश्यकताका आधारमा सुपथ मूल्यमा पसल सञ्चालन गर्ने व्यवस्था मिलाउन हरेक बजारहरुको अनुगमन गर्ने भएको छ ।

चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायातको भाडा दर, यात्रु सिट क्षमताका आधारमा  यात्रा व्यवस्थापन गराउने यातायात व्यवसायीलाई निर्देशन दिइएको छ ।

उक्त बैठकमा भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठी , सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैरे , प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मी ,सशस्त्र प्रहरी बल भानुका प्रहरी उपरीक्षक सुर्य बहादुर आचार्य ,राष्ट्रिय अनुसन्धानका उपनिर्देशक उतम खनाल, व्यास नगरपालिकाका प्रशासकीय अधिकृत हरिराम नागिला , खाद्य तथा गुटनियन्त्रण कार्यलय दमौलीका प्रमुख प्रशान्त पोख्रेल , उद्योग वाणिज्य संघ तनहुँका अध्यक्ष पबिन्द्र कुमार श्रेष्ठ , बिभिन्न बजार इकाई समितिका प्रतिनिधि , यातायत व्यवसायी संघका प्रतिनिधि लगायत संचारकर्मीहरुको उपस्थित रहेको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?